राष्ट्रियस्तरकै पदक जितेकी दमककी रेसिकालाई सम्मान

दमक ,२ असार । तेक्वान्दोमा राष्ट्रियस्तरकै पदक विजेता झापा, दमककी रेसिका धिमाल (रेशु) कोशी प्रदेश सरकारबाट सम्मानित भएकी छन् । साता अघि काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ उनले ४२ केजी तौल समूहबाट काँस्य पदक जितेकी थिईन् । रेसु दमक तेक्वान्दो डोजाङमा आवद्ध भएर खेल खेल्दै आएकी छन् । तेक्वान्दो खेल प्रतिभाको बिकास गरिरहेकी रेसुले छोटो अवधिमा नै दर्जनौं पदकहरु जितिसकेकी छिन् ।

कोशी प्रदेश खेलकुद बिकास बोर्डले हालै विराटनगरमा एक कार्यक्रम गरि पदक विजेता रेसुसहित १७ जना काँस्य पदक विजेतालाई जनही रु ५० हजार , स्वर्ण पदक विजेता ४ जना खेलाडीलाई जनही रु १ लाख, रजत विजेता ६ जना खेलाडीलाई जनही रु ७५ हजार पुरस्कार ,प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।
यसैगरि, सम्बन्धित खेलका ५ जना प्रशिक्षकहरुलाई जनही रु १५ हजार, व्यवस्थापकहरु ४ जनालाई जनही रु १० हजार साथै टोली नेता र उपनेतालाई समेत जनही १०–१० हजार रुपैयाँका दरले पुरस्कार, प्रमाणपत्र साथै दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

उनीहरुलाई मुख्यमन्त्री हिम्मत कुमार कार्की,सामाजिक विकास मन्त्री रामप्रसाद महतो, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, बोर्डका उपाध्यक्षद्वय वसन्तराज अर्याल , सन्तोषी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल २७ वटा पदक जित्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published.