दमक ,२२ जेठ । विश्व वातावरण दिवस अवसर पारेर आज दमक,कमलसहित देशैभरि विभिन्न कार्यक्रम गरि भव्य रुपले मनाइएको छ ।विभिन्न सामाजिक संघसंस्थाहरुले विश्व वातावरण दिवसको अवसर पारेर दमकमा वृक्षरोपण, सरसफाइ गरिएका छन् भने कमलमा वृहत वृक्षरोपणको आयोजना गरिएका छन् ।
वातावरण संरक्षण गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’ का रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
यो वर्ष ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने मूल नाराका साथ विश्वभर यो दिवस मनाइएको हो ।नेपालले यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ ’ मूल नारा तय गरेको थियो ।
यसैक्रममा कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको गुहेश्वरी सामाजिक संस्थाको आयोजनामा वृहत वृक्षरोपण गरिएका छन् । कमल -५ को पाडाजुँगी चोक उत्तर हिमाली मार्ग हुँदै जगनाथी होलीसम्म करिव १ हजार वटा कल्की जातका विरुवा रोपण गरिएको संस्थाका अध्यक्ष गोपाल बहादुर निरौलाले जानकारी दिए । वृक्षरोपण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल, महिला समूह, बाल क्लव र स्काउटमा आबद्ध विद्यार्थीहरु तथा स्थानीयको सहभागिता रहेको थियो ।उनका अनुसार डिभिजन बन कार्यालय झापाको सिफारिस तथा डिभिजन वन कार्यालय धनकुटाले ती बिरुवा उपलब्ध गराएका हुन् ।
कमल ३ तोपगाछी स्थित नेपाली सेना २१ बाहिनी अड्डा बाहिनीपति धनबहादुर थापाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी वृक्षरोपण कार्य सुरु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी वल शिक्षालयका सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल ३८ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्ट, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा, कमल ५ का वडा अध्यक्ष लालबहादुर बिष्टलगायतको उपस्थिति रहेको थियो ।
बन क्षेत्रको सडक किनारमा वृक्षरोपण
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको आयोजनामा सोमबार बिहान दमक -३ को बेलडाँगीस्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रमा पर्ने दमक -रवि फाल्गुनन्दमार्ग सडक किनारमा बेगम बेली फूलका बिरुवा रोपण गरिएको छ ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, नगरपालिकाका कर्मचारीहरु, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमकका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
वृक्षरोपण दमक भित्रका क्रियाशील विभिन्न संघसंस्थाहरुको सहयोगमा १२ सय भन्दा बढी संख्यामा फूलको बिरुवा रोपिएको रेडक्रस अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए ।बेगम बेली फूल लामो समयसम्म फुलिरहने हुनाले हरियालीसँगै दमक नगरको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने उनले दावी गरे ।