धरमपुरको लेलिया खोलामा ट्रस पूलको उद्घाटन

धरमपुर ,२१ जेठ । झापाको शिवसताक्षी नगरपालिका -१ धरमपुरमा पर्ने लेलिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको शनिबार उद्घाटन गरिएको छ ।तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को सिमामा अवस्थित लेलिया खोलामा निर्माण सम्पन्न भएको ट्रस पूलको वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ र वडा नं. १ का वडाध्यक्षका प्रत्यासी उम्मेद्वार तथा समाजसेवी दुर्गा नेम्वाङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
फलामे पूल निर्माणमा प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट ३५ लाख ५५ हजार  रुपैयाँ तथा समुदायबाट जनश्रमदान वापत ७१ हजार ९१८ रुपैयाँ गरी ३५ लाख ९५ हजार ९४८ पैयाँ खर्च भएको जनाइएको छ । पुल बनेपछि उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरुलाई राहत मिलेको छ ।
समाजसेवी नेम्वाङ्गले शिवसताक्षीको विकास लागि सबै नागरिकले जनप्रतिनिधिरुलाई सहयोग गरेर बढ्नु पर्ने बताए । उक्त फलामे पूलको लम्वाई ३२ मिटरको छ भने पूल निर्माण भएपछि स्थानीय ६२३ घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । पूलको उद्घाटन गर्दै वडाध्यक्ष चेम्जोङले भने, ‘पूल नभएका कारण यहाँका स्थानीयबासीलाई धेरै ठूलो समस्या भएको देखेर नै तपाईंहरुको सहयोगमा सो को निर्माण पूरा गरेको हो । ’ वडाध्यक्ष चेम्जोङ्गले पूल निर्माणमा अगुवाई गरिआएका समाजसेवी दुर्गा नेम्वाङ्गलाई धन्यवाद दिएका थिए । उनले उक्त पुलको पूर्व पश्चिम बाटोमा निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.