डा.न्यौपानेद्वारा लिखित ‘मेरो देश’ लोकापर्ण

झापा,२० जेठ । दमकका होमियो चिकित्सक तथा सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेद्वारा लिखित ‘मेरो देश’ कृति लोकापर्ण गरिएको छ । विशिष्ठ विद्वान्, सर्जक, प्राध्यापकहरूको उपस्थितिमा आज काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच कृतिको लोकापर्ण गरिएको हो । उनको यो पाँचौ कृति हो ।
अग्रज श्रष्टा प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कृति लोकापर्ण समारोहमा बोल्दै वक्ताहरुले डा. न्यौपानेको यस कृतिले सिंगो देशलाई उतारेको औल्याएका थिए । प्रा.डा. भट्टराईले होमियोपेथिक चिकित्सा क्षेत्रमा लामो समय काम गरेका डा.न्यौपानेले सिङ्गो देशलाई कृतिमा उतारेर समाज निर्माणमा इटा थप्ने काम गरेको बताए ।
लेखक डा. न्यौपानेले समग्र देशलाई अध्ययन गरेर नेपालका दुर्गम क्षेत्रका अवस्था, स्थिति र पर्यटकीय सम्भावनाको समेत खोज गरिएको यो पुस्तक १२ वर्षको समय लगाएर लेखिएको बताए ।
निबन्धकार तथा समीक्षक युवराज नयाँघरेले देशलाई जान्न र बुझ्न चाहनेहरूका लागि अत्यन्तै उपयोगी यस पुस्तकको खोज र अनुसन्धान निकै गर्विलो भएको उल्लेख गरे । डा. केशवप्रसाद न्यौपानेले स्वागत गरेका सो कार्यक्रममा पूर्व गृहसचिव वामनप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विभिन्न क्षेत्रका श्रष्टाहरुको उल्ल्ेखीय जमघट रहेको सो कार्यक्रमलाई थप मनोरञ्जन बनाउन बीचबीचमा गजल र कविता वाचन समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.