कमल ,१३ जेठ । कमल गाउँपालिकाको आयोजनामा विहिबार यहाँ पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिकाले “पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन” गर्ने उद्देश्यसहित स्वास्थ्य कार्यकर्ता, जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागितामा त्यस सम्बन्धी अभिमुखीकरणसहित योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताए ।
उनका अनुसार कार्यक्रममार्फत पोषण सुधार, खाद्य सुरक्षाको अवस्था, बालबालिका तथा आमाको स्वास्थ्य संरक्षण, तथा बहुक्षेत्रीय समन्वयमार्फत समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्थानीय तहमा पोषणमैत्री योजना निर्माण, कुपोषण न्यूनीकरण, सुरक्षित खाद्य प्रणाली विकास तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने विषयमा गोष्ठीले सहयोग पुरयाँउने विश्वास व्यक्त गरिन् । उनले स्थानीय तहमा पोषण तथा खाद्य सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पु¥याउने जोड दिईन् ।
पालिकाको सभाहलमा भएको सो गोष्ठीमा सहभागीहरूले स्थानीय आवश्यकताअनुसार कार्ययोजना तयार गर्दै प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेका थिए ।