रतुवा नदीसहित तीन ठाउँमा सिग्नेचर पुल बन्दै

दमक,६ जेठ । पूर्वपश्चिम एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) मा पर्ने तीन वटा आकर्षक पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ ।
आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् ।सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।
दमक र कमल गाउँपालिका जोड्ने रतुवा खोलामा पुल निर्माणको काम ५० प्रतिशतभन्दा धेरै सम्पन्न भइसकेको छ । हालसम्म तीनवटै प्याकेजमा पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ । राजमार्गको सडक विस्तारको काम केही सुस्त देखिए पनि पुलको काम भने निरन्तर चलिरहेको छ ।झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको कुल ९५ किलोमिटर सडकखण्डलाई विभिन्न प्याकेजमा वर्गीकरण गरेर एसियाली राजमार्गको काम अगाडि बढेको छ । झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० पुलमध्ये यी तीन वटा सबैभन्दा ठूला हुन् ।

रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीनवटै पुल निर्माणमा आधुनिक र सुन्दर देखिने ‘स्टिल आर्क’ प्रविधिको प्रयोग हुनेछ । तीनवटै पुलको निर्माणसम्बन्धी ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले ५ अर्ब रुपैयाँमा लिएको छ ।
रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ । रतुवामा तीनवटा स्पानको काम सकिएर अर्को ‘आर्क’ थप्ने तयारी भइरहेको छ । रतुवाको काम सकिएलगत्तै लोहन्द्रा र बक्राहा पुलको निर्माण कामलाई तीव्रता दिइने आयोजनाले जनाएको छ ।
रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्कको कार्य विस्तार भइरहेको छ । स्टिलतर्फको धेरैजसो काम भइसकेको र अब कङ्क्रिटको काममात्र बाँकी रहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना प्रमुख प्रजापतिको दाबी छ ।

पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनी आफैँले गरिरहेको छ । बाँकी सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले सम्हालिरहेको आयोजनाले जनाएको छ ।
रतुवा नदीमा बन्ने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमध्ये २६४ मिटर खण्ड ‘स्टिल आर्क’ र बाँकी खण्ड कङ्क्रिटको हुनेछ । यो पुलमा तीनवटा स्पान रहनेछ । लोहन्द्रा नदीको ३८५ मिटर लम्बाइको पुलमा ८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ ।

मोरङको उर्लाबारीस्थित सडकको दक्षिण किनारमा स्टिलका पाटपुर्जा फ्याब्रिकेसन (जडान) कार्य भइरहेको र त्यहाँ तयार गरिएका सामग्रीलाई पुलको मुख्य संरचनामा ल्याएर जडान गर्ने काम धमाधम भइरहेको छ । वर्षायाममा पनि पुलको निर्माणकार्य प्रभावित नहुनेगरी प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ ।प्राविधिक कारणले गर्दा पुलको निर्माण सम्पन्न गर्न सम्झौता अवधिभन्दा थप ५ महिना जति बढी समय लाग्न सक्ने आयोजनाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published.