विर्तामोड ,७ मंसीर । शिवसताक्षी नगरपालिकाले दुधे रङ्गशालामा फ्लडलाइट जडान प्रक्रिया अघि बढाएको छ । रातिको समयमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले करिब चार करोड रुपैयाँ लागतमा फ्लडलाइट जडान गरिँने कार्य शुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राका अनुसार पहिलो चरणका लागि एक करोड तीन लाख रुपैयाँको ठेक्का प्रक्रिया टुंगिएको छ । आवश्यक बजेट जुटाउन सके आगामी पुसभित्रै फ्लडलाइट जडान सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । बाँकी बजेटका लागि संघीय र प्रदेश सरकारसँग समन्वय भइरहेको उनले बताए ।
योजनाअन्तर्गत रङ्गशालाका चारवटै कुनामा ३० मिटर अग्ला टावर निर्माण गरिनेछन्। नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालका अनुसार पहिलो चरणमा टावर निर्माण, जेनेरेटर र ट्रान्सफर्मर जडान तथा विद्युत् आपूर्तिका लागि आवश्यक केबल बिछ्याउने काम हुनेछ। दोस्रो चरणमा टावरमा फ्लडलाइट जडान गरिनेछ ।
मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक हजार दुई सयदेखि एक हजार चार सय लक्ससम्म प्रकाश पु¥याउने लक्ष्य राखिएको छ। खेलाडीको आवागमन र बलको दृश्यतामा असर नपर्ने गरी प्रकाशको सन्तुलन मिलाउने प्राविधिक डिजाइन तयार गरिएको इन्जिनियर बरालले जानकारी दिए ।
फ्लडलाइट जडानपछि दुधे रङ्गशालामा फुटबलसँगै एथलेटिक्सलगायतका प्रतियोगिता पनि रातिको समयमा सञ्चालन गर्न सकिनेछ । यसले दिउँसो मात्रै खेल आयोजना गर्नुपर्ने बाध्यता हटाउने र खेलाडी तथा दर्शकलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
करिब दुई दशकअघि स्थानीय युवाले फुटबल खेल्ने सामान्य मैदानका रूपमा रहेको दुधे पछिल्लो समय व्यवस्थित रङ्गशालाका रूपमा विकसित हुँदै आएको छ। भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता र देशका चर्चित ए डिभिजन क्लब सहभागी हुने दुधे गोल्डकप आयोजना हुन थालेपछि यस मैदानले फुटबल क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।
खेलकुद प्रतियोगिताप्रति बढ्दो आकर्षण र पूर्वाधार विकासको आवश्यकतालाई ध्यानमा राखेर नगरपालिकाले रङ्गशालाको स्तरोन्नतिलाई प्राथमिकता दिएको जनाएको छ। फ्लडलाइट योजना पूरा भएपछि रातिको समयमा समेत ठूला प्रतियोगिता आयोजना गर्न सकिने र शिवसताक्षीलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट कोशी प्रदेशको खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।