मिक्लाजुङमा खुकुरीले आफ्नै घाँटी रेटेर युवक घाइते

उर्लावारी,४ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा एक युवकले खुकुरी प्रयोग गरी आफ्नै घाँटी रेट्दा गम्भीर घाइते भएका छन्। घाइते युवकलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा रेफर गरी भर्ना गरिएको प्रहरीले जनाएको छ ।
खुकुरीले आफ्नै घाँटी रेट्दा ३३ वर्षीय आशकुमार राई गम्भीर घाइते भएका छन् । उर्लाबारीस्थित अरनिको अस्पतालमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राईले केही समयदेखि अस्वभाविक व्यवहार देखाउने गरेका थिए । केही समयदेखि उनलाई मानसिक समस्या देखिएको जानकारी आफन्तले प्रहरीलाई दिएका छन् ।
उनकी पत्नी भने ३ वर्षदेखि विदेशमा रहेको पाइएको छ । वैदेशिक रोजगारीका क्रममा पत्नी दुबईमा रहेका बेला घरमा आशकुमारले भने आफ्नै घाँटी रेटेका हुन् । उनकी ७ वर्षीया छोरीसमेत रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार अन्य दिनको भन्दा फरक र अस्वभाविक व्यवहार देखाउन थालेपछि कुनै घटना गराउने हुन् किन भनेर आशकुमारलाई छरछिमेकी र आफन्तले आइतबार रातभर रुँगेर बसेका थिए । रुँगेर बसेकाहरु घरबाट हिँडिसकेपछि सोमबार बिहान ८ बजेतिर घरको कोठामा छिरेर उनले आफ्नो घाँटी रेटेको पाइएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए ।
उनका अनुसार खुकुरीले रेटेपछि आशकुमारको घाँटीमा गहिरो चोट लागेको छ । घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक नवीन वलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.