दमक,१७ बैशाख । आदिवासी जनजातिहरुका परम्परागत सांस्कृतिक भूमि सम्बन्धी सम्पदाहरु अमूल्य सम्पति भएको भन्दैं त्यसलाई राज्यले संरक्षण गर्नुपर्ने इटहरीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
किरात राई यायोक्खा प्रदेश १ कार्यसमितिले बुधबार इटहरीमा आयोजना गरेको आदिवासीहरुको परम्परागत सांस्कृतिक भूमि संरक्षणका लागि नीति तथा ऐन निर्माण सम्बन्धी अन्तरकृयात्मक गोष्ठीमा बोल्दै अगुवाहरुले राज्यले संरक्षण नगर्दा कतिपय मौलिक सम्पदाहरु हराउदै गएको औल्याए ।
यायोक्खाका प्रदेश -१ का अध्यक्ष पारषमणि राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको प्रमुख आतिथ्यतामा भएको अन्तरकृयामा उनीहरुले दिवासीहरुको सांस्कृतिक भूमि संरक्षणमा राज्यले नीतिगत ,कानुनी व्यवस्था निर्माण गरिनु पर्ने विचार राखे ।
प्रदेशस्तरिय अन्तरकृयात्मक गोष्ठीमा यायोक्खाका केन्द्रीय अध्यक्ष हाताचोले देशमा राजनीतिक परिवर्तन भएपनि यहाँका आदिवासी जनजातिहरुलाई राज्यको मूल प्रवाहमा ल्याउने कार्य अझै बन्न नसक्नु दुःखद भएको टिप्पणी गरे ।
गोष्ठीमा आदिवासीहरुको परम्परागत भूमिका विषयमा लाहुर्निपका सचिव भीम राई र सांस्कृतिक भूमिका बारेमा सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्र हतुवालीले सहजीकरण गरेका थिए ।
गोष्ठीमा किरात राई यायोक्खा प्रदेशभरिका ७० जना प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खी निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार उक्त संरचनाको शिलान्यास गरिएको हो ।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी क्षेत्रमा रहेको खुवालुङ खाम (परिसर) लाई मुन्दुमी आस्था र शक्तिको अभ्यासस्थलका रूपमा विकास गरिँदै खुवालुङ्मा मुन्दुमी खिम (घर) निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना पनि निर्माण गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईले बताए ।
किराँती समुदायको संस्कृति र ज्ञान प्रणालीलाई प्रतिनिधित्व गर्ने गरी ‘किरात राई सांस्कृतिक मौखिक ज्ञान सङ्ग्रहालय’ र ‘मुन्दुम खीम (पाठशाला)’ निर्माण गरिने छ । सङ्ग्रहालयमा अडियो, भिजुअल, तस्बिर तथा सांस्कृतिक सामग्री सङ्कलन गरिने छ भने मुन्दुम खीममा किराँती मुन्दुम र ज्ञान प्रणालीसम्बन्धी शिक्षा सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।
कोशी प्रदेश सरकारले रु दुई करोड ४० लाख बजेमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो । खुवालुङ (सप्तकोशीस्थित त्रिवेणी) लाई मौलिक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै देशकै महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।
करिब छ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको माङ्खिम र मुन्दुमी खीमका लागि आवश्यक जग्गा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी खरिद गरेको हो । साथै स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईले दुई रोपनी जग्गा दान गरेको किरात राई यायोक्खा उपाध्यक्ष जनक राईले बताए ।
किराँती समुदायका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता संरचनाले पहिचान जोगाउन सहयोग पुग्ने उनले भने ।
खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराँती समुदायका लागि पवित्र मानिन्छ । दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको उक्त ढुङ्गालाई किराँती समुदायले ‘खुवालुङ’ का रूपमा चिन्ने गरेका छन् । यो किराँती जातिको पवित्र स्थल मध्येको एक मानिन्छ ।