मोरङ ,१६ बैशाख । मोरङ प्रहरीले जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका दाजुभाइलाई नियन्त्रणमा लिएको छ ।मोरङको बेलबारी नगरपालिका–५ का ५७ वर्षीय धनपाल भगत थारु र उनका दाजु भूपाल भगत भनिने भूपाल भगतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार उच्च अदालत विराटनगरले २०७७ फागुन ४ गते दुवै जनालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै जनही १७ वर्ष ५ महिना २१ दिन कैद सजाय सुनाएको थियो। उनीहरुलाई जिल्ला अदालत मोरङले उनीहरूलाई सफाइ दिएको भएपनि उच्च अदालतले उक्त फैसला उल्टाउँदै कडा सजाय तोकेको थियो।
अदालतबाट दोषी ठहर भइसकेपछि पनि उनीहरू लामो समयसम्म सजाय भुक्तान नगरी फरार रहेका थिए । प्रहरीका अनुसार उनीहरू आफ्नै घर क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
हाल दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने र त्यसपछि कैद सजाय भुक्तानका लागि कारागार चलान गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
निरन्तर निगरानी, सूचनाको विश्लेषण र स्थानीय तहसँगको समन्वयका कारण उनीहरूको अवस्थाबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले अदालतबाट दोषी ठहर भई पनि फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आएको छ ।यो अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा कडाइ गरिने प्रहरीको भनाइ छ ।