झापासहित पाँच जिल्लामा हात्तीपाइले विरुद्ध औषधि खुवाइँदै

दमक,१६ बैशाख । आज आइतबारदेखि झापासहित सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम शुरु भएको छ ।
झापाको कमल गाउँपालिकाको केर्खास्थित स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर यो अभियानको शुभारम्भ गरेका छन् । सो गाउँपालिकाका सबै वडास्थित स्वास्थ्य केन्द्रहरुबाट यो औषधि खुवाइनेछ भने स्वास्थ्यकर्मीहरुलाई यो अभियानका लागि बिद्यालय र गाउँ–टोल सम्म औषधिसहित पठाइएको गाउँपालिकाले जनाएको छ । कमल २ स्थित समयगढमा वडाध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा शुभारम्भ गरिएको छ ।
फेयरमेड र साहारा नेपालका पवन चाम्लिङ्गले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका छन भने २ नम्बर वडा अध्यक्ष सुब्बाले हात्तीपाइले बिरुद्धको आमऔषधि सेवन गरि कार्यक्रम शुभारम्भ गरे ।
हात्तीपाइले विरुद्धको औषधि नखाएमा खुट्टा हात सुनिने ,महिलाहरुमा स्तन सुनिने र आकार बड्दै जाने ,गुप्ताङ्ग सुनिने र आकार बड्दै जाने र पुरुषहरुमा अण्डकोष सुनिने ( हाड्रोसिल ) जस्ता समस्या निम्त्याउने कमल गाउँपालिकाका स्वास्थ्य निरीक्षक दिपक दाहाल बताउँछन् ।
यो रोग लागिसकेपछि उपचार सम्भव नभएको र पुरानो तथा सामान्य अवस्थामा फर्कन नसकिने भएकाले पनि यसप्रति सचेत भएर आम नागरिकले औषधि सेवन गर्नुपर्ने दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई बताउँछन् ।
शाखा प्रमुख भट्टराईका अनुसार हात्तीपाइले औषधि सेवनलाई सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय झापासँगको सहकार्यमा नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल गरिसकेको छ ।
नगरपालिकाले नगरस्थित सबै बिद्यालयका शिक्षकहरुसँग प्रतिनिधिमुलक अन्तरक्रियात्मक छलफल गरेर हात्तीपाइले विरुद्धको औषधि सेवनलाई प्रभावकारी रुपमा अघि बढाउने तयारी गरे अनुसार यो कार्यक्रम अघि बढाइएको जनाइएको छ । ३० बैशाख सम्ममा लक्षित सबैलाई औषधि खुवाइने सरकारको योजना छ ।
धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा पनि हात्तीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा .रुद्र मरासिनीले बताए । हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भइसकेको उनको भनाई छ ।
यसवर्ष हात्तीपाइले विरुद्धको कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ ।आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको सोे कार्यक्रममा नेपालका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेका छन । हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन,डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन् ।

Leave a Reply

Your email address will not be published.