दमक ,१४ बैशाख । नेपाली कांग्रेसले जरा अभियान अन्तरगत आज दमकमा क्षेत्रीयस्तरीय प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कांग्रेसको क्रियाशिल सदस्यता अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तर्गत दमकमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कांग्रेस दमकस्थित पार्टी कार्यालयमा आयोजित अभिमुखीकरणमा बोल्दैं वक्ताहरुले कांग्रेसलाई बलियो बनाउन पार्टीले थालेको जरा अभियान आवश्यक भएकाले यसले पार्टीको समग्र स्वरुपमा रुपान्तरण आउने जोड दिए ।
अभिमुखीकरणका लागि झापामा खटिएका केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशिल सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रमलाई कार्यान्वयन गर्दै वास्तविक क्रियाशील सदस्यहरुको अद्यावधिक गर्न वडा तहबाटै जरा अभियान थालिएको उल्लेख गरे ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का केन्द्रीय प्रतिनिधि रुद्र कन्दङवाले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संघीयतालाई बलियो बनाउने अभिप्रायले जरा अभियान शुरु गरिएको जानकारी गराए । नविन कांग्रेस बनेको भन्दै सबै क्षेत्रबाट नविनतम रुपमा अघि बढाउन प्रबिधिलाई अधिकतम उपयोग गरिने उनको भनाई थियो । अभिमुखीकरणमा बोल्दै कांग्रेस झापा सभापति देउकुमार थेवेले पार्टीलाई प्राबिधिक रुपमा अघि बढाउन र आकर्षक कांग्रेस बनाउन कार्यक्रमको आयोजना गरिएको बताए । क्रियासिल सदस्यता अद्याबधिक गर्न वडा सभापति सक्रिय बन्नु पर्ने भन्दै उनले केन्द्रले तोकेको समयमा पार्टीलाई समय दिएर केहिदिन खट्न पनि आग्रह गरे ।
पार्टी प्रदेश क्षेत्रीय सभापती रवि केसी न्यौपानेले स्वागत गरेको कार्यक्रममा क्रियासिल सदस्यता अद्याबधिक सम्बन्धि प्राबिधिक कुराहरुमा तरुणदल केन्द्रीय सदस्य सजेस शिवाकोटी र प्रेस युनियनका अमृत बास्तोलाले सहजिकरण गरेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हिमालय कर्माचार्यसहित अन्य सहभागीहरुले क्रियाशिल सदस्यता अद्याबधिकका साथै पार्टीलाई भावनात्मक रुपमा एक बनाउँदै नविनतम कांग्रेस बनाउन बिभिन्न सुझाव दिएका थिए । अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि रुद्र कन्दङवा ,पार्टी जिल्ला उपसभापति शेरवहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
वडामा प्रतिनिधिहरु तोकिए
कांग्रेस क्षेत्र न. ५ ले क्षेत्रका सवै वडातहमा प्रतिनिधि खटाएको छ । क्षेत्रीय सचिव धर्मानन्द भट्टराईका अनुसार क्षेत्रका सवै नेताहरुलाई २९ वटै वडामा प्रतिनिधि खटाएको छ ।
जरा अभियान अन्तर्गत पार्टीले पार्टीलाई रुपान्तरण गर्न सदस्यता अधावधिक तथा सबै क्षेत्रबाट नविनतम रुपमा अघि बढाउने उद्देश्यले देशभरि कांग्रेसले अभियान सञ्चालन गरिआएको छ । अभियान बैशाख ३१ गतेसम्म सम्पन्न गरिने लक्ष्य राखिएको पार्टीले जनाएको छ ।