चन्द्रगढी महिला गोल्डकप : एपिएफ फाइनलमा प्रवेश

भद्रपुर, १२ बैशाख । चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।
खेलको ३४ औँ मिनेटमा एपिएफले अग्रता लियो । कुसुम खतिवडाले दिएको क्रस पासले कप्तान अनिता बस्नेतलाई टच हुँदै मैदानमा होल्ड भएको बललाई रश्मिकुमारी घिसिङले गोल गरिन् ।

पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन् ।  रश्मिकुमारी घिसिङको पासमा बस्नेतले गोल गरेकी थिइन् ।
एपिएफको लागि तेस्रो गोल रश्मिको नाममा रह्यो । ६२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले मैदानको मध्यभागमा मिलाइदिएको पासलाई घिसिङले गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् । जारी प्रतियोगितामा उनको यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् ।
खेल अवधिभर एपिएफले आक्रमक तथा चर्च ब्वाइजले रक्षात्मक खेल प्रस्तुत गरेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.