ढुकुरपानी भेट्रान कपको उपाधि वडा नं २ ले जित्यो

दमक,१ बैशाख । दमक ३ स्थित ढुकुरपानी माविका भूतपूर्व बिद्यार्थीहरुको संगठन ढुकुरपानी भूपू बिद्यार्थी समाजले आयोजना गरेको वडास्तरीय भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि वडा नं २ ले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा वडा नं ३ लाई ट्राइब्रेकरमा हराउँदै वडा नं २ ले उपाधि जित्न सफल भएको हो । निर्धारित समय भित्र दुवै तर्फबाट एक÷एक गोलको बराबरी भएपछि ट्राइबेकर लिनु परेको थियो ।
उपाधिसँगै सो टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी , मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेताले नगद २० हजारमा चित्त बुझाएको छ । द्धितीय पुरस्कार राशी अक्सफोर्ड अंग्रेजी माविले सौजन्य गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा वडा नं २ का गोलकिपर तेजबहादुर धिमाल उत्कृष्ट गोलकिपर , वडा नं ३ का मिलन लिम्बु उत्कृष्ट डिफेन्स, कुमार गिरी उत्कृष्ट मिड फिल्डर वडा नं २ का तुलबहादुर मगर उत्कृष्ट फरवार्ड घोषित भए भने म्यान अफ दि सिरिजको पुरस्कार वड नं २ का बेसु धिमालले जितेका छन ।प्रतियोगिताको समापन कार्यक्रममा पूर्व खेलाडी लक्ष्मी रिजाल, डायमोड धिमाल र कुमार गिरीलाई सम्मान- पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्य र ढुकुरपानी पूर्व बिद्यार्थी समाजका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको समापन कार्यक्रममा दमक वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटा र वडा नं ३ का वडाध्यक्ष नबिन बरालको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्व वडाध्यक्ष गोविन्दराज कार्की , ढुकुरपानी माविका व्यवस्थापन समिति अध्यक्ष हिमालय दाहाल, दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी, रामचन्द्र मन्दिर संरक्षण समितिका अध्यक्ष दिपेन्द ढुंगेल, अक्सफोर्ड अंग्रेजी माविका प्रिन्सिपल गंगादेव चौधरी लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published.