सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल

इटहरी ,२४ चैत । सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रूपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आग्रह गरेको हो । तीन दिनदेखि भइरहेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरूले अपिल गरेको हो ।
शनिबार नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष भगीरथ खत्वे, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष योगेन्द्र मण्डल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष गोविन्द निरौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर दाहाल, नेकपा (एमाले)का रुद्रबहादुर बस्नेतसहितले संयुक्त अपिल जारी गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक जस्ता पक्षहरूको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र सङ्कल्प भएको र सोहीअनुसार राज्य सञ्चालन हुँदै आएको ब्यहोरा हामी सबैमा विदितै छ भन्दै संयमित हुन आग्रह गरिएको जारी अपिलमा उल्लेख छ ।
संयुक्त अपिलमा भनिएको छ, “जिल्लाका केही स्थानमा विभिन्न किसिमका घटनाहरू घटन गई जिल्लाको समग्र शान्ति सुरक्षामा चुनौती थपिएको अवस्था छ । यसै सन्दर्भमा जिल्लाका केही स्थानमा कर्फ्यु समेत जारी भएको ब्यहोरा सम्पूर्णमा जानकारी नै छ । तर यस घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पु¥याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरू सामाजिक सञ्जालहरूमा पोष्ट गरेको पाइएकाले यस प्रकारका गतिविधिहरू नगर्न÷नगराउन अनुरोध गरिन्छ ।”

पाँच बुँदे सहमती, कर्फयू खुकुलो हुँदै

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो । शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.