इलाम २ को उपनिर्वाचन : २० जनाको उम्मेदवारी दर्ता

इलाम,२४ चैत । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ कोे उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, नेकपा, एकीकृत समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीसहित केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

१२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको हो । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष छन् ।
नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवारको रुपमा सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण छन् । । सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।

उपनिर्वाचनका लागि नेपाली काँग्रेसबाट डम्बरबहादुर खड्काले अपरान्ह मनोनयन दर्ता गराएका छन् । खड्डका २०७९ सालको निर्वाचनमा सुहाङका बुबा सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए । सुवासको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार मिलन लिम्बूले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप )ले मनोनयन दर्ता गराएका थिए । एकीकृत समाजवादीका जीतबहादुर राई र पहिचानवादीहरुले साझा उम्मेदवारका रुपमा डकेन्द्र सिंह थेगिमले स्वतनत्र उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेशनल रिपल्कि पार्टीबाट धनराज राना मगर, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, राप्रपाबाट लक्ष्मी गुरुङ, नेपाल मदजुर किसान पार्टीबाट श्यामबहादुर दर्जी र जनमत पार्टीबाट प्रेमकुमार थमसुहाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, केशबबहादुर थापा, दिनेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बश्यालले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको लागि शनिबार मनोनयन दर्ता भएको हो । बिहान ११ बजेदेखि पौने ६ बजेसम्ममा २० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।सत्ता गठबन्धनमै रहेका तीन दलसहित अन्य दल र स्वतन्त्र गरी २० जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एस भने सत्ताघटक दल हुन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि मिति २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मिति २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने र २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.