दमक ,८ चैत । झापाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाले ल्याव सञ्चालन गर्ने भएको छ ।कमल ५ मंगलवारेस्थित रेडक्रस उपशाखाको आफनै भवनबाट सर्वसाधारणहरुलाई लक्षित गरि ल्याव परीक्षण सेवा सञ्चानलमा ल्याउने तयारी थालिएको हो ।
ल्याव सञ्चालन गर्न उपशाखाले ल्याव कक्ष लगायतका पूर्वाधार तयार गरिसकेको छ भने त्यसैदिन निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरि ल्यावको औपचारिक रुपमा उद्घाटन समेत गरिने सचिव पारषमणि राईले बताए । ल्यावसहित शिविर सञ्चालन यहि २०८२ बैशाख ५ गते शुक्रवार तय गरिएको उनले बताएका छन् ।
रेडक्रस उपशाखाको हालै सम्पन्न बैठकले ल्याव सञ्चालनको तयारीसहित स्वास्थ्य शिविर र रक्तदानलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी थालिएको सभापति चन्द्र साहले बताए ।
रेडक्रसले सञ्चालनमा ल्याउने ल्यावमा अन्य ल्यावको परीक्षण शुल्क भन्दा ५० प्रतिशत न्यून मूल्यमा सेवा उपलव्ध गराउने सभापति साहले बताए । रेडक्रसको परोपकारी अभियानलाई समाजसंग जोड्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायलाई थोरै भएपनि सुविधा उपलव्ध गराउन पनि ल्यावले सहयोग पुरयाँउने उनले बताएका छन् ।
ल्याव सञ्चालनका लागि रेडक्रस उपशाखाका कोषाध्यक्ष प्रमोद दाहालसहित उनका परिवारले आफना पिता तथा रेडक्रसका पूर्व सल्लाहकार स्व. पूर्णानन्द शर्माको स्मृतिमा मासिक रु १० हजार उपलव्ध गराउने प्रतिवद्धता आएको छ भने दमकको गणेश सर्जिकल्सले ल्यावका केमिकल ,एक जना दाताले फ्रिज लगायतका सहयोगी सामाग्रीहरु समेत उपलव्ध गराउने भएको सभापति साहले बताए ।