-नो केबलकार पक्षद्वारा अर्को वार्ता समिति गठन
झापा, ७ चैत । करिव एक महिनाअघि ताप्लेजुङमा पक्राउ परेका १८ जना केबुलकार विरोधीहरु आज साँझ रिहा भएका छन् ।आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ केबलकार खारेजी संघर्ष समितिका १८ जना कार्यकर्ताहरुलाई जिल्ला अदालत ताप्लेजुङबाट जनही रु.२० हजारका दरले धरौटीमा रिहा गरिएको हो । रिहाई भएको खुशीयालीमा उनीहरुले नारा जुलुस गरेका थिए ।
रिहा हुनेहरुमा पाँचथर फिदिम वडा नं ११ बस्ने अन्दाजी वर्ष २२ का यमन राई , झापा बिर्तामोड ११ अर्जुनधारा बस्ने अन्दाजी वर्ष ३० की दिक्षा क्षेत्री , ताप्लेजुङ आठराई त्रिवेणी वडा नं. १ बस्ने अन्दाजी वर्ष ४५ का नबिन पोमु, पाँचथर हिलिहाङ वडा नं. ६ बस्ने अन्दाजी बर्ष ४७ का मित्र लिङ्देन , सुनसरी इटहरी ३ बस्ने अन्दाजी वर्ष २३ का विवेक लिम्बू, मोरङ सुन्दरहरैचा वडा नं.१० बस्ने अन्दाजी बर्ष ५८ का तुलाराम तामाङ ,सुनसरी इटहरी वडा नं. ३ बस्ने अन्दाजी वर्ष १९ का जुरन राई ,मोरङ उर्लावारी १ बस्ने वर्ष ३९ का हरि लिम्बू रहेका छन् ।
यसैगरि, पाँचथर फिदिम १ बस्ने अन्दाजी बर्ष ४० की सुनिता केरुङ, इटहरी वडा नं. २ बस्ने बर्ष अन्दाजी ३२ का अर्जुन तामाङ, वडा नं. २० बस्ने अन्दाजी बर्ष ३२ का अनुप सुब्बा, इलाम वडा नं ७ बस्ने अन्दाजी बर्ष ५१ का योगेन्द्र लावती ,सुनसरी इटहरी वडा नं १० बस्ने अन्दाजी वर्ष १९ का बिशेष सुब्बा ,झापा बिर्तामोड २ बस्ने अन्दाजी बर्ष २० की इक्सा लिम्बू , सोही ठाउँ बस्ने बर्ष अन्दाजी २१ की निहा चेम्जोङ ,पाँचथर याङवरक २ बस्ने वर्ष ४५ की इन्दिरा धौराली , ताप्लेजुङ फक्ताङलुङ ५ तापेथोक बस्ने वर्ष ४४ का सुबास तुम्बाहाम्फे र ताप्लेजुङ फुङलिङ ६ बस्ने सन्दिप लिम्बू पन रिहा भएका छन् । उनीहरुलाई गत फागुन १०, १२ र १४ गते पक्राउ गरिएको थियो ।
गत १० फागुनमा नो केवलकार आन्दोलनको क्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरी प्रशासनले १८ जनालाई नियन्त्रणमा लिएको थियो ।
यसैवीच,, सर्वोच्च अदालतले नो केवलकार आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको गत चैत ४ गतेको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको थियो ।
नो केबलकार पक्षद्वारा अर्को वार्ता समिति गठन
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न सुरु गरिएको केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले अर्को वार्ता समिति गठन गरेको छ। नो केबलकार पक्षले सरकारसँग उच्चस्तरीय वार्ता गर्न खगेन्द्र फेम्बो संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै नो केबलकार पक्षले सरकारी वार्ता टोली र नो केबलकार पक्षको वार्ता सहजीकरण टोलीबिच गएको सोमबार भएको सहमतिअनुसार अर्को वार्ता टोली गठन गरेको उल्लेख गरिएको छ। केबलकार विवादका विषयमा समाधान खोज्न उच्चस्तरीय वार्ता गर्ने सहमति भएको र सो अनुसार नो केबलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले अर्को वार्ता टोली गठन गरेको जनाएको छ।
केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक रहेका फेम्बो संयोजक बनेको वार्ता समिति सदस्यमा श्रीप्रसाद लिङ्खिम, सरस्वता सिङ्घक (सरु), धनराज लिम्बू र सन्तोष मेहता रहेका छन् । संयोजक फेम्बो, लिङ्खिम र सिङ्घक मुक्कुमलुङ ताङ्सेःप चुम्भोतर्फ तथा लिम्बू र मेहता अन्तरदलको प्रतिनिधित्व हुने गरी वार्ता समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
हालसम्म सरकारद्वारा गठित गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता समिति र नो केबलकार पक्षबिच विभिन्न चरणमा वार्तासमेत भएको छ। यद्यपि, पटक–पटकको वार्ताले सार्थक निस्कर्ष भने निकाल्न सकेको छैन् ।