कांग्रेस नेता लिलक सिटौलाको निधन

झापा ,७ भदौं । लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको ६७ वर्षको उमेरमा निधन भएको छ ।
पेटको क्यान्सरबाट पीडित सिटौलाको आइतबार बिहान करिब १० बजेर १९ मिनेटमा अर्जुनधारा नगरपालिका–८ स्थित निजी निवासमा निधन भएको हो।सिटौला प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष, नेपाली कांग्रेस झापाका पूर्व सदस्य तथा सुकुम्बासी समस्या समाधान आयोगका पूर्व अध्यक्षसमेत थिए।

प्रजातान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेसको संगठन विस्तारमा उनले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गरेका थिए । सिटौलाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस झापाले जनाएको छ ।
पार्टीले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रीमती अनिता सिटौला, छोरा अमृत सिटौला, छोरी अस्मिता सिटौला तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

सिटौलाको पार्थिव शरीरको अन्त्येष्टिका लागि आइतबार दिउँसो १ बजे अर्जुनधारा–८ स्थित निवासबाट शवयात्रा प्रारम्भ हुने जनाइएको छ । शवयात्रा कनकाई माईसम्म पुग्ने र त्यहीँ उनको अन्त्येष्टि गरिने बताइएको छ ।
नेपाली कांग्रेस, प्रजातान्त्रिक आन्दोलनमा आबद्ध नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई शवयात्रामा सहभागी भई दिवंगत सिटौलाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न परिवारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.