दमक,२७ माघ । सोनाम ल्होछार पर्वका अवसर पारेर आज दमकमा तामाङ समुदायले विभिन्न कार्यक्रम गरि मनाईएका छन् । तामाङ समुदायको महान पर्व मन्जु श्री सम्वत २८६० औं डुकल्हो (गडुल वर्ग) पर्वको अवसर पारेर नेपाल तामाङ घेदुङ्ख संघ दमक नगर समितिसहित साङे छोइलिङ्ग गुम्वा दमक ५,नामग्याल कुछे जिन्लाब बौद्ध गुम्बा दमक ९,माणिपा संघ दमक,आमा समूह,डम्फु समूह ,तामाङ कल्याणकारी समूह लगायतका आधा दर्जन बढी संस्थाहरुले सामूहिक रुपमा सोनाम ल्होछार मनाएका हुन् ।
दमक ९ स्थित चन्द्रमा पार्कमा आयोजित सोनाम ल्होछार विशेष कार्यक्रममा दमक क्षेत्रका तामाङ समुदायहरु भेला भएर,शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम गरेर यसवर्ष पनि सोनाम ल्होछारलाई निरन्तरता दिईएको घेदुङ्खकी उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक नेतृ समुन्द्रा लामाले बताईन् ।
उनका अनुसार जातीय भेषभुषामा सजिएर भेला भएका तामाङ समुदायहरुले माघ शुक्ल प्रतिपदाका दिनदेखि १ महिना सम्म परिवार,आफन्त र नातेदारका भेटघाट,शुभकामना आदान प्रदान रमाइलो गरी सोनाम ल्होछार मनाउने गर्छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा तामाङ घेदुङ्ख संघ दमकका अध्यक्ष दुर्गा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले तामाङ संस्कृतिको संरक्षण, सम्बद्र्धनका लागि सबै सरोकारवालाले लाग्नु पर्ने औल्याए । नगर प्रमुख थापासहित उपप्रमुख रेगिना भट्टराई प्रसाई र दमक ९ का वडाअध्यक्ष अध्यक्ष कुबेर भट्टराईले तामाङ समुदायको संस्कृति देशकै सम्पदा भएकाले त्यसको संरक्षणमा सवै जुट्नु पर्ने जोड दिए । उनीहरुले कार्यक्रमस्थल चन्द्रमा पार्कलाई आन्तरिक पर्यटन प्रर्वद्धनका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
घेदुङ्ख संघ झापाका पूर्व अध्यक्ष कृष्ण गोले, नामग्याल कुछे जिन्लाब बौद्ध गुम्बा दमकका अध्यक्ष राजु तामाङ लगायतले सोनाम ल्होछारको महत्व माथि चर्चा गरेका थिए । कार्यक्रममा तामाङ सेलो लगायतका गायन तथा नृत्य प्रर्दशन गरिएको थियो ।