दमक,२२ माघ । झापाको कमल गाउँपालिका -५ गुहेश्वरी टोलमा सोमबार राति जंगली हात्तीले चार वटा घरमा क्षति पुरयाँएको छ ।दुई वटा संख्यामा आएको हात्तीले स्थानीय पदमबहादुर निरौला,देवेन्द्र कुईकेल,कमानसिंह निरौला र चन्द्रबहादुर कार्कीको घरमा क्षति पुरयाँएको छ । हात्तीले अन्नवाली खानुका साथैं घरमा समेत क्षति पुरयाँएको स्थानीय दिनेश अधिकारीले बताए । हात्तीको उपद्रो रोक्न वडाअध्यक्ष लालबहादुर विष्टसहित टोलबासीहरु रातैभरि खटिएका थिए ।
गुहेश्वरीसंगै त्यस टोलका सिम्ले,टुक्रे , चाँजु लगायतका बस्ती हात्ती प्रभावित मानिन्छन् । हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजनाको जंगलबाट रातीपख दिनहुँ जसो हात्तीले उपद्रो मच्याउदै आएको छ ।यसअघि समेत सो बस्तीमा हात्तीले दुई जनाको ज्यान लिईसकेको छ ।
यसैवीच,हात्तीले क्षति पुरयाँएको घटना लगत्तै गाउँपालिका अध्यक्ष हुकुमसिंह राई प्रभावित क्षेत्रमा पुगेर घटनाका बारे जानकारी लिएका छन् । उनले हात्तीबाट क्षति पुगेका स्थानीयलाई स्थानीय सरकारले नियमानुसार राहत उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।