दमक,१९ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ ।
कमल गाउँपालिका- ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा आज भएको उपाधि खेलमा कमल गाउँपालिकालाई शून्यका विरुद्ध ३ गोल गरि शिवसताक्षीले उपाधि जितेको हो ।
जीतसंगै शिवसताक्षीले नगद रु १ लाख रुपैयाका साथ ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको छ । उपविजेता बनेको कमलले नगद रु ५० हजार रुपैयाका साथ ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको हो ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर शिवसताक्षीका गणेश आचार्य, वेष्ट डिफेण्डर कमलका विदुर लिम्बू, वेष्ट मिड फिल्डर कमलका सुरज आङदेम्बे , हाई स्कोररतर्फ शिवसताक्षीका सचिन श्रेष्ठ ,प्रतियोगिताका उत्कृष्ठ खेलाडीबाट शिवसताक्षीका श्रवण मल्लिक र म्यान अफ दि म्याचबाट शिवसताक्षीकै उमेश दनुवार पुरस्कृत भए । विद्यागत सवैलाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता,उपविजेता टिमलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिकाले फेयर प्ले टिमको प्रमाण पत्र प्राप्त गरेको छ । कमल गाउँपालिकाले गत माघ ११ गतेदेखि आयोजना गरेको सो प्रतियोगितामा जिल्लाका १५ वटै पालिकाले भाग लिएको थियो ।