दमक ,१८ माघ । नेपाल आदिबासी जनजाति पत्रकार महासङ्ह ( फोनिज) प्रदेश १ का नवनिर्वाचित लेखा समितिका सदस्य समेत रहेका दमकका पत्रकार अनिलदेव राई पुरस्कृत भएका छन् ।
दमक उद्योग बाणिज्य संघले शुक्रवार आफ्नो ३३ औ बार्षिक साधारणसभाका अवसरमा राईलाई नगद ,सम्मान पत्रसहित पुरस्कृत गरेका हुन् ।उनलाई दमक नगरपालिकाकि उपप्रमुख रेगिना भट्टराई प्रसाईं ,संघका अध्यक्ष गोपाल गुरागाईले पुरस्कार प्रदान गरेका थिए । झापा ,शिवसताक्षी निवासी पत्रकार राई लामो समयदेखि दमकमा बसेर पत्रकारितामा कृयाशील छन् ।
संघले बार्षिक साधारणसभाका अवसरमा दमकको उद्योग ,बाणिज्य लगायतका क्षेत्रमा कलम चलाए बापत एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिआएको छ । पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ ।
उनीसहित संघमा योगदान पुरयाँउने पूर्व यामनाथ आचार्य ,राजकुमार भट्टराई , गणेश श्रेष्ठ र धनपति बराललाई सम्मान प्रदान गरियो ।यसैगरी उत्कृष्ट व्यवसायी सम्मानबाट नुतन राइस मिल्सका रुद्रप्रसाद तिम्सिना ,चाम्लिङ फोटो स्टुडियोकी रामदिपा राई ,श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठलाई समेत सम्मान प्रदान गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा साधारण सभामा विशिष्ट अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा लगायत विशिष्ट व्यक्तित्वहरुले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।
त्यस्तै, सभामा गत आर्थिक बर्ष २०८०-०८१ भित्र संघको आजिवन सदस्यता प्राप्त गर्ने ६ जना व्यवसायीहरुलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले जानकारी दिए । यसपटक आजीवन सदस्यता लिनेहरुमा सुनौलो फर्माका सञ्चालक बुद्धिशेखर बजगाइँ ( विबेक), सुजन फर्मा प्रालिका बिप्लव लिम्बू, गणेश सर्जिकलका गणेश प्रधान, पञ्चमुखी सप्लायर्सका लोचनप्रसाद नेपाल, पदमदेवी फार्मेसीका प्रहर क्षेत्री र शिव आयुर्वेदका युवराज भट्टराई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि राउतसहित दमक नगर उपप्रमुख भट्टराई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, दमक -६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा दमक उद्योग वाणिज्य संघ स्थापनाको ४६ बर्षको इतिहास समेटिएको संक्षिप्त वृत्तचित्र “दमक उद्योग वाणिज्य संघ हिजोदेखि आज सम्म” प्रस्तुत गरिएको थियो । संघले निष्कर्ष मिडिया प्रालिको सहकार्यमा पहिलो पटक प्रविधिको उच्चतम सदुपयोग गर्दै यस किसिमको वृत्तचित्र प्रस्तुत गरेर संघको इतिहासलाई वृतचित्र प्रस्तुत गरिएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले सभामा स्वागत मन्तव्य राखेको सो सभामा संघको कार्यसमितिका सबै बैठकमा उपस्थित हुने कार्यसमिति सदस्य तुल्सीराम तिम्सिनालाई पनि प्रोत्साहन स्वरुप सम्मान गरिएको छ ।
साधारण सभामा अध्यक्ष गुरागाइँले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाको सञ्चालन संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले गरेका थिए ।