पाडाजुंगी,१७ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगितामा आयोजक कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका फाईनलमा प्रवेश गरेका छन् ।
कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित प्रतियोगितामा आज सम्पन्न दुई वटा सेमिफाईनलको खेलमा शिवसताक्षी र कमल गाउँपालिका विजयी बन्दै फाईनलमा पुग्न सफल भएको थियो । पहिलो खेलमा अर्जुनधारा नगरपालिकालाई शुन्यका विरुद्ध ५ गोल गर्दै शिवसताक्षीले फाईनलमा प्रवेश गरेको हो ।
शिवसताक्षी नगरपालिकाका तर्फ बाट जर्सी नम्बर १२ का उमेश दनुवारले १ गोल, जर्सी नम्वर १४ का सचिन श्रेष्ठले १ गोल र जर्सी नम्बर ९ का श्रवण मल्लिकले ३ गोल गरेर आफ्नो टिमलाई जित दिलाउन सफल भए ।
त्यस्तै आजै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा कचनकवल गाउँपालिकालाई शुन्यका विरुद्ध २ गोल गर्दै कमलले फाईनलमा प्रवेश गरेको हो । कमलका तर्फवाट जर्सी न. ८का सुवास दाहाल र जर्सी नम्बर १२ का खेलाडी सुरज आङ्गदेम्बेले १ ÷१ गोल गरेर फाइनल यात्रा पक्का गरेका थिए । कमल गाउँपालिका गतवर्ष शिवसताक्षीमा सम्पन्न प्रतियोगिताको च्याम्पियन हो । च्याम्पियन बन्ने पालिका यसरीनै प्रतियोगिताको आयोजक बन्ने प्रावधान छ ।
प्रतियोगिताको उपाधिका लागि आगामी शनिवार दिनको १ बजे फाईनल खेल हुने आयोजक संमितिका सहसंयोजक दिपेन्द्र लामिछानेले बताए । गत माघ ११ गतेदेखि शुरु भएको सो प्रतियोगितामा झापाका १५ वटै पालिकाले भाग लिएको थियो ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाखसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ५० हजारसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट,वेष्टकिपर, वेष्ट डिफेन्डर,हाइस्कोरर खेलाडीलाई जनही ६ हजार ६ सय ६६ रुपिया ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।