धरान,१७ माघ । २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगितालाई विशेष बनाउन सबै खालको तयारी पूरा भएको जानकारी दिए । बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघ १९ गते देखि २६ गतेसमम्म धरान–१६ रङ्गशालामा हुने भएको छ ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, भुटान फुटबल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृत क्लब, युके एफसी (भारत), मच्छीन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपियाँ र उपविजेताले पाँच लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो पुरस्कार राशी धरान बहराइन एकता समाज र धरान समाज युकेले प्रदान गर्ने भएको छ भने दोस्रो पुरस्कार राशी धरान निवासी हाल पोर्चुगलमा रहनु भएको अरुण राईले प्रदान गर्ने भएको आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याचको पुरस्कार रकम माउन्ट एभरेस्ट ड्रेनिङ्ग सेन्टर धरान–१० ले, उत्कृष्ट खेलाडीलाई हाल पोर्चुगलमा रहनु भएको केन्द्र लिम्बूले र चर्चित स्पोट्सवेयर केलमीले गोल्डकपदेखि जर्सि लगायत सम्पूर्ण खेलकुद सामाग्रीहरू ५ वर्षका लागि धरान फुटबल क्लबलाई प्रायोजन गर्ने सम्झौता भएको अध्यक्ष तामाङ्ले बताए ।