दमक, १५ माघ । नेपाली कांग्रेसका त्तत्कालीन दमक नगर सभापति प्रकाश प्रसाई कारवाहीमा परेका छन् ।साता दिन अघि प्रसाईले पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि अनुशासनको कारवाही गरेको हो ।
बुधबार कांग्रेस क्षेत्रीय समिति, क्षेत्र प्रदेश सभा (ख) समिति, दमक नगर समिति र दमक ६ वडा समितिले संयुक्त विज्ञप्ति जारी गरेर प्रसाईलाई कारवाही गरिएको उल्लेख छ । विज्ञप्तिमा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्रदेश (ख) का सभापति रवि केसी न्यौपाने, वडा नं. ६ का वडा सभापति मणिकुमार बढाथोकी, दमक नगर समितिका कार्यवहाक सभापति प्रेम भट्टराईको हस्ताक्षार रहेको छ ।
नेपाली कांग्रेस वडा, नगर, प्रदेश (ख) तथा प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ५ झापाको संयुक्त बैठकले प्रतिनिधि सभा सदस्यका उम्मेदवारको मनोनयनका दिननै प्रसाईंलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पारित “बलियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लोकतान्त्रिक पार्टीमा प्रवेश र बहिर्गमन स्वाभाविक प्रक्रिया भए पनि पार्टी हितविरुद्धका गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै वडा तहदेखि क्षेत्रभरिका कार्यकर्तालाई भ्रामक, कपोलकल्पित तथा प्रतिगमनकारी गतिविधिबाट सजग रहन विज्ञप्तिमार्फत आग्रह गरिएको जनाईएको छ ।