दमक ,१२ माघ । नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई समितिले नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको छ ।शुक्रवार क्याम्पसमा दुई चरणमा कार्यक्रम गरि संघले नवआगन्तुक विद्यार्थीहरुलाई सामूहिक रुपमा स्वागत गरेको हो । नेविसंघ इकाई सभापति सुनिल हाताछु राईको अध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रथम वर्षका नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेतृ लिम्बू, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, दमक बहुमुखी क्याम्पस स्ववियू सभापति सोबिम न्यौपाने, नेविसंघ झापाका सभापति सञ्जय निरौला,जिल्ला सचिव जितेन साम्पाङ राई लगायतले विद्यार्थीको हकहित तथा शैक्षिक मुद्धामा नेविसंघले पुरयाँउदै आएको योगदानको विषयमा जोड दिएका थिए ।