
दमक,१८ पुस । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा,शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको ७८ बर्षको उमेरमा निधन भएको छ ।
२०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी केहि दिन यता अस्वस्थ्य थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उनको शनिवार राति आफनै निवासमा निधन भएको कांग्रेस झापाका पूर्व जिल्ला सचिव भक्ति सिटौलाले बताए ।
२०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा उनी संविधानसभा सदस्य मनोनित भएका थिए ।
उनका श्रीमती फुकी ताजपुरिया, छोराहरु धर्मप्रसाद, प्रेमप्रसाद र कृष्णप्रसाद एवं छोरी सुशिला ताजपुरिया छन् । उनको वैदिक विधिपूर्वक आज स्थानीय बनियानी खोलाघाटमा अन्त्येष्टी गरिएको छ । यसैबीच, कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना ब्यक्त गरेका छन् ।