-छविराज ढकाल
पथरीशनिश्चरे,१८ पुस ।मोरङको पथरीशनिश्चरेस्थित बुद्ध माविमा रंगशाला निर्माण हुने भएको छ । निकै लामो समयदेखि व्यवस्थित खेलमैदान अभाव हुदैआएको समयमा नगरपालिकाले रंगशाला निर्माण शुरु गरेको हो ।
गत शुक्रबार एक कार्यक्रमका वीच नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको सो रंगशालाको भौतिक संरचनाको निर्माण कार्यको शुभारम्भ गरिएको थियो। रंगशालाको नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले शिलान्यास गरे । पथरीशनिश्चरे वडा नं ,४,७,८ र ९ का किशोर तथा युवाहरूले सो बुद्ध रंगशालाबाट आफ्नो खेल क्षमता विकास गर्न सक्ने उनले बताए ।
बुद्ध माविमा निर्माण शुरु गरिएको रंगशाला करिब २ बिघा क्षेत्रफलमा रहेको र अव भने यस खेलमैदानबाट यहाँका खेलाडीहरुलाई फाइदा पुग्ने स्थानीय खेलाडी गोपाल दाहाल बताउँछन् । अझै पनि भेट्रान्स फुटबल खेल खेल्न आधा घण्टा भन्दा टाढा टाढा गएर अभ्यास गरिरहेको भन्दै उनले यहाँ भन्दा लागू औषधबाट जोगाउन र खेलजीवन सुन्दर बनाउन पनि खेलकुदले सहयोग पुरयाँउने बताएका छन्।
उनका अनुसार हाल स्थानीय युवाहरूले खाल्ल्डीखुल्डी ,सानो र सागुरो मैदानमा हाल फुटबल लगायतका विभिन्न खेलहरू अभ्यास गर्दै आएका छन्।
पछिल्लो समय युवाहरूलाई लागुपदार्थ दुव्र्यसनबाट जोगाउन र खेलतर्फ आकर्षित गर्दै उनीहरूको खेल सीप र क्षमताको प्रवर्धन गर्ने उद्देश्यले रङ्गशालाकै रूपमा विकास गर्ने उद्देश्यका साथ खेलमैदान निर्माण गरिएको बुद्ध खेलमैदान निर्माण अनुगमन समितिका सदस्य तथा प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष अमरबहादुर थापाले बताए।
तत्काललाई १० लाख रुपैयाँको लागतमा खेलमैदान सम्याउने काम भइरहेको नगर प्रवक्ता तथा वडाध्यक्ष नविनजंग कार्कीले जानकारी दिए ।आगामी हिउँदमा पालिकास्तरीय प्रतियोगिता आयोजना गर्ने लक्ष्यका साथ हाल काम तीव्र गतिमा भइरहेको उनले बताए ।
उनले रंगशाला निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसँग पनि डिपीआर सहित आवश्यक पहल सुरु गरिएको उल्लेख गरे। यस खेलमैदानलाई व्यवस्थित बनाउदैं रङ्गशालाको रुपमा विकास गरी भविष्यमा फुटबल, क्रिकेट ,भलिबल, ब्याडमिन्टन जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना गरिने लक्ष्य राखिएको उनले जानकारी दिए ।