दमकमा प्रसाईको उम्मेदवारी घोषणा

प्रकाश प्रसाई

दमक ,१० असार । नेपाली कांग्रेसको १४ औ महाधिबेशन नजिकिएसंगै झापामा पनि चहलपहल शुरु भएको छ । पार्टी नेतृत्वका आकांक्षीहरुले आन्तरिक भेटघाट तथा धमाधम उम्मेदवार घोषणा गर्न थालेका छन् ।
कांग्रेसको चौधौ महाधिवेशनअन्तर्गत आगामी साउन १२ गतेदेखि गाउँ–नगर अधिवेशन हुने भएको छ । साउनको अन्तिम साता जिल्ला अधिवेशन हुने निर्वाचन तालिका सार्वजनिक भईसकेको छ । कांग्रेस झापाको जिल्ला सभापतिमा धेरै आकाक्षी देखिए पनि केहिले भने उम्मेदवार घोषणा गर्न थालेको पार्टी कार्यालय सचिव जयकुमार दाहालले बताए ।
उनका अनुसार गाउँ,नगर,क्षेत्रीय र जिल्ला अधिबेशनको थप टुंगो लाग्न साथ चुनावी चहलपहल थप बढ्ने छ । उनले भने , –‘ पार्टी नेतृत्वका लागि आकांक्षीहरुले धमाधम उम्मेदवार बन्ने घोषणा बढ्दै जाने र यसपटक आन्तरिक चुनावले व्यापकता पाउने छ ।’
झापामा पाँच वटा निर्वाचन क्षेत्र र १५ वटा स्थानीय तह रहेको छ । ती सवैमा अहिले धमाधम उम्मेदवार घोषणा संगै आन्तरिक भेटघाट , भेला तीव्र हुन थालेका छन् ।
दमकमा प्रसाईको उम्मेदवारी
जिल्लाको माइपश्चिमकै ठुलो नगर दमकमा पनि पार्टीको चुनावी गतिविधि तीव्र हुन थालेको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा कांग्रेसलाई बलियो बनाउन पार्टी नेतृत्वमा धमाधम आंकाक्षी देखिन थालेका छन् । कांग्रेस दमकको सभापतिमा वर्तमान सचिव प्रकाश प्रसाईले उठ्ने निधो गरिसकेको बताउछन् । प्रदेशवाणीसंगको कुराकानीका क्रममा प्रसाईले आसन्न पार्टी अधिबेशनमा आफू पार्टी कार्यकर्ताहरुको सल्लाह र सहयोगवाटनै सभापतिमा उठ्ने बताउँछन् । पार्टी बाहेक दमक उद्योग वाणिज्य संघका दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका प्रसाईले भने , –‘पार्टीमा लामो समयको योगदान र सवैलाई समेटेर पार्टी बलियो बनाउनका लागि पनि मैले सभापति बन्ने तय गरेको छु ’
यता कांग्रेसका हालकै नगर सभापति रोशन बिष्ट पनि एक कार्यकाल नेतृत्व लम्ब्याउने आन्तरिक तयारीमा लागेको बुझिएको छ ।
यस्तै, क्षेत्र नम्बर ५ को प्रदेश (ख ) सभापतिका लागि जिल्ला सदस्य रबि केसीले इच्छा राख्दैआएका छन् ।
यस्तै, क्षेत्रीय सभापतिका लागि गौरादहका युवा नेता जीवन राईले उम्मेवारीको दावी गरेका छन् । गौरादह उद्योग वाणिज्य संघको अध्यक्ष भएर उद्योगी व्यवसायीहरुको नेतृत्व गरिसकेका राईले पार्टी थप मजबुत बनाउनका लागि आफू क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने बताए ।

कट्टेलद्धारा जिल्ला सभापतिमा उठ्ने घोषणा
पार्टीको जिल्ला उपसभापति राम कट्टेलले पार्टीको जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले जिल्ला सभापतिमा उठ्ने आकांक्षा व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘झापा जिल्लाको गौरवपूर्ण गरिमा र छविलाई अझ उच्च , उज्वल र लोकप्रिय बनाउने उद्धेश्यका साथ जिल्ला सभापतिको उम्मेद्वारको रूपमा उठने निर्णय गरेको छु ,
जिल्ला उपसभापतिको पदमा रहेर काम गर्दै आउँदा जिल्ला सभापतिमा उठनु स्वाभाविक भएको उनको भनाई छ । उनले पार्टी कार्यकर्ताहरु सबैको भावना , सुझाव र सल्लाहलाई सहज रूपमा स्वीकार गर्दै आसन्न जिल्ला अधिबेशनमा सभापतिका लागि आफनो उम्मेदवारी रहने धारणा राखेका छन् ।
मेचीनगर निवासी कट्टेलले २०४८ सालदेखि सक्रिय रुपमा कांग्रेसको राजनीति गर्दै आएका छन् । यसअघि उनी कांग्रेसको जिल्ला कोषाध्यक्ष जिम्मेवारी सम्हालेका र हाल जिल्ला उपसभापति छन् ।
२०४९ सालमा तत्कालीन धुलाबारी गाविसको अध्यक्ष सम्हालेको अनुभव उनको छ ।
यता कांग्रेस झापाका वर्तमान सभापति उद्धव थापा फेरि पनि जिल्ला नेतृत्वमा दोहोरयाँउने तयारीमा छन् भने पार्टीका पूर्व उपसभापति देउमान थेवे पनि जिल्ला सभापतिका दावेदार आकांक्षी छन् । थेवे पार्टी वृतमा निकै बलियो उम्मेदवार मानिन्छन् । स्पष्टवक्ता थेवे यसअघि पनि जिल्ला सभापतिमा उम्मेदवार बनेका थिए । आफू कांग्रेसको एक इमान्दार कार्यकर्ता भएका र यसपटक भने पार्टी जिल्ला नेतृत्वको लागि आफू तयारी भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.