सगुन साँझमा सांगीतिक कार्यक्रम , शिक्षाप्रेमी राई सम्मानित

दमक,२ मंसीर । कमल गाउँपालिका–५ स्थित सगुन युवा क्लबले यसवर्ष पनि देउसी भैलीका साथ २० औ सगुन साँझलाई निरन्तरता दिएको छ ।तिहार,छैठ लगायतका चाडपर्वहरुको विदाई संगै यसवर्ष पनि सोमबार भव्य रुपले सगुन साँझ तथा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको हो ।
मंगलवारे वजारमा आयोजना गरिएको कार्यक्रममा स्थानीयहरुको वृहत उपस्थिति रहेको थियो । कार्यक्रमको क्लबका संस्थापक अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले ब्यानर वाचन र दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
सोहि अवसरमा शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएबापत शिक्षाप्रेमी अनुपमा राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले युवाहरू रचनात्मक र सामाजिक उत्तरदायित्वका काममा एकजुट भएर लागे मात्र समाज र देश निर्माणको अभियानले सार्थकता पाउने बताए ।
दिवाकर राईको संयोजकत्व र रूपनारायण निरौलाको सहसंयोजकत्वमा आयोजित कार्यक्रममा गायक सिद्धान्त खड्का, चोलुङ केदेम र गायिका डोल्पा शेर्पाले सांगीतिक प्रस्तुति दिएका थिए । यस्तै, मौलिक संस्कृति संरक्षणको सन्देशसहित पञ्चदेव हरि कीर्तन मण्डली र शिव पञ्चायन कीर्तन मण्डलीले विशेष देउसी–भैलो तथा भजनकीर्तन प्रस्तुत गरेका थिए ।
क्लबका अध्यक्ष देवेन्द्रराज आङ्देम्बेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक व्यक्तित्व दिलीपकुमार वान्तवा, ललित राई, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य रोशन दाहाल, सहिद मार्ग टोल विकास संस्थाका अध्यक्ष भीम पौडेललगायत स्थानीयको उपस्थिति थियो ।
क्लबले दुई दशकदेखि सगुन साँझसहित एकादशी मेला, खेलकुद प्रतियोगिता, सरसफाई ,बालबालिकाको नेतृत्व विकासजस्ता सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.