सुरु भयो चार दिन मनाइने छठ

झापा ,२७ कार्तिक । चार दिन मनाइने छठ पर्व आज देखि औपचारिक रुपमा सुरु भएको छ । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने पर्वका लागि नजिकका नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ गरिएको छ ।

गाउँघरमा बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरिएको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ छठ मनाउने तयारीमा छन्। मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठको पहिलो दिन आज ‘नहाय–खाय’ गरिन्छ।
दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ ।

बाँसका सामग्रीको व्यापार बढ्यो
छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा छठ पूजाका सामग्रीको किनबेच बढेको छ । छठ पूजामा प्रयोग हुने बाँसबाट बनेका कुनिया, ढक्की र नरिवल, उखु, भोगटे, हरियो तरकारीलगायत सामग्री खरिद गर्नेको चहलपहल बजारमा बढ्न थालेको हो ।
सुनसरीको झुम्कामा २० वर्षदेखि छठ पूजाका सामग्री बिक्री गर्दै आउनुभएका व्यापारी ब्रजकिशोर गोश्वामीका अनुसार पछिल्लो समय बाँसबाट बनेका कुनिया र ढक्कीको माग बढेको छ । उनले कुनियाको मूल्य सानो ठुलो आकार अनुसार एक सयदेखि तीन सय रुपैयाँसम्म पर्ने बताए ।

त्यस्तै, बाँसबाट बनाइएका ढक्कीको मूल्य अढाइ सयदेखि सात सय रुपैयाँसम्म पर्ने उनको भनाई छ । छठ पर्वमा सूर्यदेवलाई अर्घ दिन र पूजाका सामग्री राख्न बाँसबाट बनेका परम्परागत सामग्री प्रयोग गर्ने चलन रहेकाले यस्ता सामग्रीको माग बढ्ने गरेको उहाँको भनाइ छ । छठ पर्वका लागि आवश्यक सामग्रीको किनबेच झुम्कासँगै इटहरी, इनरुवा तथा सुनसरीका अन्य बजारमा पनि बढेको छ । इटहरीका स्थानीय टुकबहादुर विष्टका अनुसार छठ नजिकिएसँगै पूजाका सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको छ ।
छठ पूजाका लागि घाट निर्माण हुँदै
पूर्वी नेपालको तराईका जिल्लामा छठ पर्वको रौनक बढ्न थालेको छ । छठ नजिकिएसँगै घरआँगनदेखि नदी, खोला, पोखरी र सिँचाइका नहर किनारमा रहेका घाट सिँगार्ने काम सुरु भएको छ । छठका गीतले तराईका बस्ती गुञ्जायमान हुन थालेका छन् भने व्रतालुहरू पूजाका सामग्री जुटाउन व्यस्त हुन थालेका छन् ।

सुनसरीको सप्तकोशी नदी किनार, इटहरीको बूढीखोला, विराटनगरको सिङ्घिया खोलालगायत पूर्वी नेपालका विभिन्न नदी तथा जलाशयमा छठ पूजाका लागि घाट सरसफाइ, सजावट र व्यवस्थापनको काम भइरहेको छ ।इटहरीस्थित बूढीखोलाको गङ्गा जमुना मुक्तिघाटमा क्षेत्रमायस वर्ष छठ पूजाका लागि घाट तयार गरी व्रतालुलाई हस्तान्तरण गर्ने काम भइरहेको छठ पर्व सेवा समिति इटहरीका अध्यक्ष बासुदेव कर्णले बताए ।
त्यस्तै रामधुनी नगरपालिकाको झुम्कास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पनि छठ पर्व मनाउन तयारी थालिएकोश्री छठ माता सेवा समिति रामधुनीले जनाएको छ ।
श्री छठ माता सेवा समिति रामधुनीका अध्यक्ष मिलन रौनियारका अनुसार झुम्का नहर किनारमा १६५ वटा पूजाघाट निर्माण गर्ने काम भइरहेको छ । उहाँका अनुसार पूजा गर्न करिब पाँच सय परिवार सहभागी हुने छन् । घाट निर्माण, सरसफाइ, सजावट तथा अन्य व्यवस्थापकीय काम अघि बढाइएको समितिका अध्यक्ष रौनियारले बताए ।
तराई र मधेशका समुदायले मनाउँदै आएको छठ पर्व पछिल्लो समय सबै जातजाति र समुदायको साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published.