दमक,१७ कार्तिक । नेपाली कांग्रेस नियमित १५ औं महाधिबेशन पक्षधरले झापाको कमल गाउँपालिकामा मंगलवार दिपावली,छैठ तथा नेपाल सम्बतका अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
कमल -५ पाडाजुंगीस्थित बनमारा क्याफेमा आयोजित कार्यक्रममा कांग्रेसकी नेतृ तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूसहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कांग्रेस झापा क्षेत्र न। ५ का पार्टी क्षेत्रीय सभापति अमृत कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले कांग्रेसमा बैचारिक रुपमा एक भएपनि केहि स्वार्थ समूहको जालझेलबाट पार्टी विभाजनको संघारमा पुग्नु दुखद भएको जोड दिए ।
सोहि अवसरमा हालै जिल्ला अधिबेशनबाट निर्वाचित उपसभापति राजकुमार न्यौपानेलाई समेत सम्मान प्रदान गरिएको कांग्रेस क्षेत्रीय सभापति कटुवालले बताए । युवा नेता न्यौपानेलाई खादा, माला ओढाएर बधाई शुभकामनासहित सम्मान प्रदान गरेका थिए ।
सो क्रममा उपसभापति न्यौपानेले पार्टीलाई बलियो संगठनका रुपमा स्थापित गर्न आफू सधै अघि बढ्ने उल्लेखगरे ।
पदाधिकारीतर्फ जिल्लाको माईपश्चिम क्षेत्रबाट न्यौपाने पार्टी जिल्ला उपसभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।गत कार्तिक १५ गते विर्तामोडमा सम्पन्न जिल्ला अधिबेशनले कृष्ण हुमागाईको अध्यक्षतामा झापा जिल्ला कार्यसमिति निर्वाचित गरेको थियो ।निर्विरोध निर्वाचित जिल्ला कार्यसमितिको उप–सभापतिमा राजकुमार न्यौपाने, कालेन्द्रप्रसाद सिंह राजवंशी, सचिवमा संजय निरौला, बिष्णुप्रसाद खरेल, सह–सचिवमा चेतन खतिवडा, नेमेम्वरबिक्रम नेम्वाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा अपाङ्गतातर्फ नरेन्द्रकुमार लिम्बू, खस आर्यतर्फ चेतनाथ भट्टराई, जेनजीतर्फ बन्दनाकुमारी गणेश साथै जिल्लाका १५ पालिका र १३१ वडालाई समेटेर ७३ सदस्यीय जिल्ला समिति चयन गरिएको बताइएको छ ।