फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

झापा,११ कार्तिक । झापामा फूलको व्यावसायिक खेती गरिरहेका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन्।
उनीहरूले भारतबाट हुने फूलको आयातमा रोक लगाएर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने वातावरण सिर्जना गरिदिनसमेत जोडदार माग गरेका हुन्।
केही वर्षयता जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । तर, भारतबाट आयातित फूलका कारण स्वदेशी उत्पादनले बजार नपाउँदा बोटमै खेर जाने समस्या उत्पन्न भएकाले राज्यको ध्यानाकर्षण गराउनुपरेको बिर्तामोडकी कृषक सुष्मा पौडेलले बताइन्।

व्यवसायी पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सात बुँदे मागपत्र बुझाएको छ । मागपत्रको पहिलो बुँदामा नै स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिइनुपर्ने माग गरिएको छ ।
स्वदेशी उत्पादनले स्थानीय माग धान्न सक्ने अवस्था रहेको उल्लेख गर्दै भारतीय फूलको आयात रोक्न नीतिगत पहल गरिनुपर्ने किसानको अर्को माग छ। स्वदेशी उत्पादनको संरक्षण र लगानीको सुरक्षाका लागि भारतबाट फूलको आयातमाथि रोक लगाइनुपर्ने माग प्रजिअ पोखरेलसमक्ष राखिएको किसान पौडेलले बताइन्।
जिल्लामा १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको किसानहरूको भनाइ छ । विगतमा स्थानीय फूलले उचित बजार नपाउँदा आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूले गुनासो गरेका छन्।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षीलगायत क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ। लाखौँको लगानी, श्रम र समय खर्चिएर गरिएको फूलखेतीले रोजगारी र आयआर्जनको नयाँ ढोका खोलेको भए तापनि बजार र लगानीको संरक्षणमा राज्यले पर्याप्त चासो नदिएको किसानहरूको भनाइ छ ।
भारतबाट हुने अनधिकृत आयात नियन्त्रणका लागि सीमा र भन्सारमा प्रभावकारी अनुगमन गरिदिन, स्थानीय उत्पादनको न्यायोचित मूल्य र सहज बजार पाउने व्यवस्था मिलाइदिन किसानहरूले माग गरेका छन्।
त्यसैगरी सरकारी कार्यालय, विद्यालय, होटल र सङ्घसंस्थामा स्वदेशी फूल प्रयोग गर्नका लागि प्रोत्साहित गरिदिन, फूलखेतीसम्बन्धी वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउन र फूलखेतीको संरक्षण तथा बजार विस्तारका लागि सरकारी सहयोग उपलब्ध गराउनसमेत मागपत्रमार्फत जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको छ ।

तिहारअघि नै फूल फुलेपछि भण्डारण गर्दै किसान
झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म जोगाएर राख्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् ।
वर्षा भए फूल बिग्रिने जोखिम रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन् । तिहार आउन झन्डै दुई हप्ता बाँकी रहँदा फूल सुरक्षित राख्नुपर्ने बाध्यता भएको बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालले बताए ।
“तीन–तीन दिनमा फूल टिपिन्छ,” रिजालले भने, “टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पु¥याउन थालेका छौँ ।” फूल भण्डारणका लागि छुट्टै कोल्डस्टोर नहुँदा उपलब्ध सुविधामै निर्भर हुनुपरेको उनले बताए । “फूलका लागि अलग्गै कोल्डस्टोर हुन्छ, तर झापामा त्यो सुविधा छैन,” उनले भने, “जे जस्तो भए पनि यहाँ उपलब्ध स्टोरमै फूल सुरक्षित राख्न बाध्य छौँ ।”
अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले टिपेर भण्डारण गर्नुपरेको बताए । पानी परे फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले फूल टिपेर माला उन्दै कोल्डस्टोरमा राख्ने गरिएको उनले जानकारी दिए ।
झापामा यस वर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूलखेती गरिएको छ । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा फूल उत्पादन गरिरहेका छन् ।
स्वदेशी फूलको बजार संरक्षणको माग
फूल सुरक्षित राख्ने चुनौतीसँगै उत्पादित फूलले उचित बजार पाउने विषयले पनि किसानलाई चिन्तित बनाएको छ । भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जाने अवस्था आउन सक्ने किसानको गुनासो छ ।
बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ । किसानले स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.