अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप : भारतको यूके एफसी सेमिफाइनलमा प्रवेश

पथरीशनिश्चरे, १८असोज । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा भारतको यूके एफसीले आयोजक पथरी–११ फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शनिबार भएको उद्घाटन खेलमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडेन डेथबाट गरिएको थियो। सडेन डेथमा यूके एफसीले आयोजक पथरी–११ लाई ८–७ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयभर दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो। दुवै टोलीले गोलका लागि पटक–पटक अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका भारतको यूके एफसीका गोलरक्षक, जर्सी नम्बर १८ का सचिन गुरुङ म्यान अफ द म्याच घोषित भएका छन्। उनलाई नगद ७ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो।पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बाफोले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख तुम्बापोले गोल्डकप पथरी शनिश्चरे नगरको पहिचान र गौरव भएको बताउँदै प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे। उनले खेललाई मर्यादित र अनुशासित बनाउन आग्रह गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।

उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, पथरी शनिश्चरे–२ का वडा अध्यक्ष नैना साम्पाङ राई, वडा सदस्य चन्द्रकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी , अखिल नेपाल फुटबल संघ -एन्फा मोरङका अध्यक्ष सन्जीव बुढाथोकी तथा वाल्मीकि माध्यमिक विद्यालयका निर्देशक नवलकिशोर खनाल लगायतको उपस्थिति रहेको थियो।

वर्षा तथा प्रतिकूल मौसमका बाबजुद पनि खेल अवधिभर दर्शक तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यसैबीच, प्रतियोगिताअन्तर्गत भोलि डिफेन्डिङ च्याम्पियन सिराहाकोसहलेश फुटबल क्लब र काठमाडौँको न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.