मोटरसाइकल दुर्घटनामा सीडीओका स्वकीय सचिवसहित दुईको मृत्यु

इटहरी २८ भदौं। इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी सागर रेग्मीसहित दुई जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब २ः५० बजे इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७, बालग्राममा दुर्घटनामा परेको थियो।
दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत इनरुवा नगरपालिका–३ का अन्दाजी ३४ वर्षीय सागर रेग्मी र सोही स्थानका २९ वर्षीय पारस थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पुष्टि गरे।
‘आइतवार बिहान दुःखद् घटना भएको जानकारी पाएपछि अहिले हामी अस्पतालमै छौँ,’ अर्यालले भने, ‘दुवै जनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ । करिब आधा घण्टापछि पोस्टमार्टम गर्ने तयारी छ ।’
घटनाबारे जानकारी पाएपछि आफू पनि अपत्यारिलो र विक्षिप्त बनेको प्रजिअ अर्यालले बताए । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत थिए। उनी प्रमुख जिल्ला अधिकारीका स्वकीय सचिवका रूपमा कार्यरत थिए।

अर्का मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमै करार सेवामा कार्यरत रहे पनि केही समयअघि मात्रै राजीनामा दिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।
उपचारका क्रममा रेग्मीको बिहान ४ः५२ बजे र थापाको बिहान ५ः११ बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए।प्रहरीका अनुसार घटनास्थलमा थापा हेल्मेट लगाएको अवस्थामा भेटिएका थिए भने रेग्मी मोटरसाइकलको पछाडि सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.