झापा, २७ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई ) को संक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडु रहेको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
धरानमा करिब १४ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए । घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । संक्रमितहरुको संख्या भने १४ पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो समय जिल्लामा जेई संक्रमणसँगै मृत्युसमेत बढेपछि संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य कार्यालयले आगामी असोज ५ गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।