कमल,१२ साउन । जिल्लाको कमल गाउँपालिका – ७ रंगपुरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ । मंगलवार ल्याब सेवा शुभारम्भसँगै त्यहाँ एक दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ ।
ल्याब सेवासँगै स्वास्थ्य शिविरको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले उदघाटन गरे । उनले प्रयोगशाला सेवाको गुणस्तर र प्रभावकारितामा कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
उक्त स्वास्थ्य सेवा केन्द्रबाट खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै उनले भने, –‘आगामी दिनमा आवश्यकता र स्रोतका आधारमा थप स्वास्थ्य सेवाहरूलाई विस्तार गरिदै लैजाने लक्ष्य लिएका छौं ।’
कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत गरेका थिए भने कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा समेतसेवा विस्तारमा जोड दिए । सो अवसरमा वडाध्यक्ष पृथ्वीपति राईले वडाबासीको स्वास्थ्य सेवामा प्रतिबद्धता जनाए ।
ल्याब असिस्टेन्ट गीता न्यौपानेले सो केन्द्रबाट रगत, पिसाब (युरिन), दिसा (स्टुल),सुगर जाँच, परीक्षणका साथै गर्भवती महिलाका आवश्यक प्रयोगशाला परीक्षणहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिइन् ।
ल्याब सेवा सञ्चालनमा आएपछि अब कमल–७ तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको वडाध्यक्ष राईले बताए ।