धनकुटा ,१२ साउन । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडक खण्डमा एउटा ट्रक दुर्घटना भई आगलागी हुँदा चालकको मृत्यु भएको छ । विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, गुडिरहेको ट्रकको अचानक ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएपछि त्यसमा आगो लागेको थियो। दुर्घटनालगत्तै ट्रकको अगाडिको भाग दन्दनी बल्न थालेको प्रत्यक्षदर्शीले बताएका छन्।
आगलागीमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राईको ज्यान गएको होकक । उनी दुर्घटनापछि ट्रकबाट बाहिर निस्कन सफल भए पनि शरीरमा लागेको आगो र गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकका सह–चालक १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने दुर्घटना र आगलागीको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
तमोर–करिडोरको सो खण्डमा तीव्र गति वा प्राविधिक गडबडीका कारण हुने यस्ता दुर्घटनाले सडक सुरक्षामा चुनौती थपेको स्थानीयको भनाइ छ ।