इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस

इलाम,७ साउन । मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकहरू समेत विपद्का कारण पूर्ण रूपमा अवरुद्ध भएपछि इलाम नगरपालिकाले इलाम नगर क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षतामा बिहीबार सम्पन्न सर्वपक्षीय तथा सर्वदलीय भेलाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम जिल्ला प्रशासन कार्यालय इलाममार्फत गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।भेलामा निवर्तमान सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराई, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

भेलाले मेची राजमार्गको राजदुवाली खण्ड विगत वर्षदेखि नै वर्षेनी पहिरो, जमिन भासिने र सडक दबिने समस्याबाट प्रभावित हुँदै आएको उल्लेख गर्दै यस वर्ष भने सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ। साथै, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका केचना–कञ्चनजंघा सडकको पुवाखोला र सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा रहेका बेलिब्रिजहरू गत वर्षको भीषण बाढीले बगाएपछि ती मार्ग पनि सञ्चालन हुन नसकेको बैठकले निष्कर्ष निकालेको छ ।
सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले दैनिक उपभोग्य खाद्यवस्तु, औषधि, खाना पकाउने ग्यासको अभाव झेल्नुपरेको, इलाम अस्पतालबाट झापा रिफर गरिएका बिरामीको उद्धारमा कठिनाइ भएको तथा विद्यालय–क्याम्पसमा अध्ययनरत विद्यार्थीको आवागमन प्रभावित भई पठनपाठनसमेत अवरुद्ध भएको बैठकले जनाएको छ ।

बैठकले राजदुवाली खण्ड पुनः सञ्चालन गर्न र वैकल्पिक मार्गमा बेलिब्रिज जडान, हिलो हटाउने तथा ग्राभेलिङ गर्ने कार्य सम्पन्न हुन अझै समय लाग्ने देखिएकाले तत्काल विशेष सरकारी हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
यसैबीच, इलाम उद्योग वाणिज्य संघलाई दैनिक उपभोग्य खाद्य सामग्री, औषधि र ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न वैकल्पिक व्यवस्था मिलाउन तथा आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, पुवाखोला जलविद्युत् आयोजनाको सुरुङमार्ग र हेडट्याङ्कमा चुहावट हुन सक्ने स्थानीयको आशंका तथा गोलाखर्क–राजदुवाली क्षेत्रमा विगतदेखि निरन्तर पहिरो र जमिन भासिने घटना भइरहेकाले प्राविधिक अध्ययन गराई प्रतिवेदनका आधारमा आवश्यक मर्मत तथा सुधार गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
भेलाले मेची राजमार्गलाई इलाम, पाँचथर र ताप्लेजुङको ‘जीवनरेखा’ उल्लेख गर्दै यातायात सञ्चालन छिटो पुनःस्थापना गर्न, वैकल्पिक मार्ग सुरक्षित बनाउन तथा प्रभावित नागरिकलाई राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न संघीय सरकारसँग तत्काल प्रभावकारी पहलको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.