इटहरी ,२७ असार । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवा चोकस्थित कोशी लोकमार्गमा इटहरी आउँदै गरेको यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका–५ घर भई हाल मोरङ बुढीगंगा–३ बस्दै आएका करिब ५० वर्षीय बिनोद मेहतर रहेका छन्।शनिवार दिउँसो करिब १ः३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मे १ ख २४६४ नम्बरको यात्रुबाहक बसले बाटो काट्दै गरेका मेहतरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते मेहतरलाई उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचोक पु¥याएको थियो। उनको टाउको, छाती र बाँया हातमा गम्भीर चोट लागेको थियो। उपचारकै क्रममा दिउँसो ३ः४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ निवासी ३१ वर्षीय प्रकाश उप्रेतीलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।