इलाम,१७ जेठ । बाँस बोकेर जाँदै गरेको पिकअप गाडी इलामको सूर्योदय नगरपालिका–४ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतवार मध्यान्ह करिब १२ बजे खड्का गाउँको भित्री सडकबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाईबा घाइते भई श्रीनिधि अस्पताल फिक्कलमा उपचाररत छन् ।दुर्घटनामा घाइते भएका सोही स्थानका ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, झापा पठाइएको प्रहरीले जनाएको छ ।