माङसेबुङ बन्यो ‘लिम्बू भाषा’ सरकारी कामकाजी लागू गर्ने पहिलो पालिका

इलाम ,१३ जेठ । इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ ।मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयमा ल्याएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रुपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको हो ।

माङसेबुङ गाउँपालिकामा बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए । २०८३ वैशाख ११ गतेको ६६ औं कार्यपालिका बैठकको निर्णय अनुसार ‘लिम्बू भाषा’ कार्यान्वयनमा ल्याइएको उनले बताए ।
अबदेखि गाउँपालिका र मातहतका सबै सरकारी कार्यालयहरुमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फारामलगायतका सामग्रीमा नेपाली भाषासँगै ‘लिम्बू भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपि’ प्रयोग गरिने अध्यक्ष राईले जानकारी दिए ।
‘लिम्बू भाषा’ सरकारी काजकाजको भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारको योजना नेपालीसँगै ‘लिम्बू भाषा’ र ‘किरात सिरिजङ्गा लिपि’ मा लेखिएको सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका तर्फबाट प्रधानाध्यापकको तर्फबाट प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गका छन् ।

माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञचालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गरिएको उनले बताए ।
‘यहाँको बहुसंख्यक जिम्बू जातिले बोल्ने ‘लिम्बू भाषा’लाई हामीले आजदेखि माङसेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याएका छौं,’ अध्यक्ष राईले भने, ‘नेपालको संविधानले आत्मासात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय र भाषिक बाहुल्यताका आधारमा यो निर्णय गरेका हौं ।’
‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा लागू भएपछि सरोकारवालाहरु समेत उत्साहित भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले ‘लिम्बू भाषा’ कामकाजको भाषा घोषणा हुनु समग्र मातृभाषीहरुको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए । उनले ‘लिम्बू भाषा’ कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आउनु भाषाको संरक्षण र पुस्तान्तरणका लागि कोशेढुङ्गा साबित हुने उल्लेख गरे ।
लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन सहजीकरणका लागि पाँचौ तहको भाषिक सहजकर्ता करारमा नियुक्ति गरेको छ । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार १६ हजार आठ सय १० जनसंख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरी लागू गरिसकेको थियो ।

‘माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी’ पुस्तक विमोचन

कार्यक्रमको अवसरमा माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान समेटिएको पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी पुस्तक’ विमोचन भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्ष हेमन्त राईलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरे । पत्रकार राम योङहाङद्वारा लिखित एवम् माङसेबुङ गाउँपालिकाद्वारा प्रकाशित पुस्तकमा वि.सं २०१९ देखि २०७९ सालसम्म विभिन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको चिनारी समावेश गरिएको छ ।
१४८ पृष्ठको पुस्तकमा ५४४ जना जनप्रतिधिको जीवनी तथा चिनारी समावेश गरिएको छ ।

वान्तावा भाषा पाठ्यक्रम पनि विमोचन

सोही अवसरमा ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि विमोचन भएको छ । आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि निर्माण गरेको हो ।
यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ ।
त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.