दमक,१२ जेठ । दमक चौंकमा भर्खरै सञ्चालनमा आएको माया क्याफेले दमकका तीन जना विपन्न विद्यार्थीलाई पोशाक दिएको छ । दमक फुटबल एकाडेमीका अध्यक्ष तथा सामाजिक अगुवा गजेन्द्र देवानले आफना दिवंगत श्रीमतीको स्मृतिमा हालै मात्र सञ्चालनमा ल्याएको सो क्याफेमार्फत दमकका प्रतिभावान तीन खेलाडीलाई विद्यालय पोशाक उपलव्ध गराएका हुन् ।
दमक तेक्वान्दो डोजाङका सल्लाहकार संयोजकसमेत रहेका देवानले हिमालय माध्यमिक विद्यालय कक्षा ११ अध्ययनरत रेशु धिमालसहित आयाुष धिमाल र अर्पण धिमाललाई विद्यालय पोशाक दिएका हुन् ।
रेशुसहित तीनै तेक्वान्दो खेलका प्रतिभाशाली खेलाडीहरु हुन् । अध्ययनसंगै खेल क्षेत्रमा प्रशिक्षण लिदै आएका उनीहरु दमक तेक्वान्दो डोजाङमा आवद्ध रहेर विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनााएर दर्जनौं पदकहरु जीतेका छन् ।
दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य समेत रहेका देवानले आफ्ना दिवगंत जीवन साथी माया राई देवानको जन्मदिनको विशेष अवसर पारेर उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
दमक -५ स्थित सर्वोदय माध्यमिक विद्यालय आयोजित सो कार्यक्रममा दाता देवानसहित दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमाल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा ५ का सचिव बलराम धिमाल लगायतको उपस्थिति थियो ।