पाँचथरका आठ स्थानीय तहमा ७ करोड ४२ लाख बेरुजु

पाँचथर ,७ जेठ । महालेखा परीक्षकको प्रतिवेदनले पाँचथरका आठ स्थानीय तहमा ७ करोड ४२ लाख ६२ हजार रुपैयाँ बेरुजु देखाएको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा परीक्षण गरिएको रकममध्ये झन्डै साढे सात करोड रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु याङवरक गाउँपालिकामा देखिएको छ । यस पालिकाको ८६ करोड ५० लाख ९० हजार रुपैयाँको लेखा परीक्षण गरिएकामा १ करोड ७४ लाख ५१ हजार रुपैयाँ बेरुजु देखिएको हो । जिल्लामा सबैभन्दा कम बेरुजु फाल्गुनन्द गाउँपालिकामा देखिएको छ । यहाँको १ अर्ब २९ करोड ४२ लाख ३० हजार रुपैयाँ लेखा परीक्षण गर्दा ५३ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

फालेलुङ गाउँपालिकाको ९९ करोड ६९ लाख रुपैयाँ लेखा परीक्षण गर्दा १ करोड १८ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको छ भने तुम्बेवा गाउँपालिकामा ८८ करोड ५७ लाख ९० हजार रुपैयाँ परीक्षण हुँदा ८१ लाख ९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
हिलिहाङ गाउँपालिकाको ८६ करोड ७४ लाख रुपैयाँ परीक्षण गर्दा ७३ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै मिक्लाजुङ गाउँपालिकामा १ अर्ब २२ करोड ३४ लाख ८५ हजार रुपैयाँ लेखा परीक्षण गर्दा १ करोड ८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । कुम्मायक गाउँपालिकाको ८६ करोड ७२ लाख ९० हजार रुपैयाँ परीक्षण गर्दा ५८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

फिदिम नगरपालिकामा १ अर्ब ९५ करोड ६० लाख ४२ हजार रुपैयाँ लेखा परीक्षण गर्दा २ करोड १६ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।गत वर्ष याङवरक गाउँपालिका देशभरमा कम बेरुजु हुने स्थानीय तहमा परेको थियो । यस वर्ष त्यहाँको बेरुजु रकम बढेको छ । यस्तै फालेलुङ, फाल्गुनन्द र हिलिहाङले भने विगत वर्षको तुलनामा बेरुजु रकम घटाउँदै लगेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published.