दमक ,२८ बैशाख । दमक -५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक अशक्त विरामीलाई नगद सहयोग प्रदान गरेको छ ।
दुवै हात, खुट्टा गुमाएका २६ बर्षिय उमेश खाँतीलाई संस्थाको एक टोली सोमबार घरमै पुगेर नगद १५ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग उपलव्ध गराएका हुन् । संस्थाका अध्यक्ष दिपक खरेलसहित सञ्चालक समिति,लेखा समिति, कर्मचारी,शेयर सदस्यहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका प्रशासन प्रमुख धर्मानन्द भट्टराईले जनाएका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले आर्थिक अवस्था कमजोर भएका खातीलाई नगद सहयोग प्रदान गरिएको उनको भनाई छ । उनका अनुसार महिना दिन अघि बैदेशिक रोजगारीका क्रममा दुवई गएका बेला दुवै हातखुट्टा काटनु पर्ने अवस्था सृजना भएको थियो ।
चिकित्सकले दुवईमा नै दुबै हात र खुट्टा काट्न सल्लाह दिएपनि त्यहाँ उपचार खर्च खर्चिलो हुनेभएपछि उनलाई कम्पन्नीले घर फर्काईदिएको थियो । घर फर्किए लगत्तै उनको काठमाण्डौमा शल्यक्रिया गरि हातखुट्टा काट्ेर नयाँ जीवन पाएका थिए ।
सत्र महिने छोरी र श्रीमतीसहित सुरुङ्गामा परिवारसहित बस्दैआएका खाँती परिवारले थप उपचारका लागि सहयोगको याचना गरिआएका छन् ।
