झापा,१९ बैशाख । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सहरलाई दुर्गन्धित बनाउने व्यक्ति र समूहविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।
महानगरका अधिकांश वडामा फोहोर व्यवस्थापनमा लापरबाही गर्नेहरूमाथि निगरानी बढाइएको हो।
महानगरपालिकाको सरसफाइ शाखा प्रमुख पुनम दाहालका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्म २४ जनाभन्दा बढीलाई कारबाही गरिसकिएको छ । यो प्रक्रिया अझै जारी रहेको उनले जानकारी दिइन्। विशेषगरी लुकिछिपी बाटो तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने समूहहरूलाई निगरानीमा राखी जरिवाना गरिएको दाहालले बताईन् ।
उनका अनुसार विद्यालय तथा कलेजहरूले विज्ञापनका सामग्री (कागजात) जथाभावी फाल्ने गरेको पाइएपछि उनीहरूलाई समेत जरिवाना गरिएको छ । यसका साथै केही स्थानमा शौचालयको फोहोर पानी सिधै नालामा मिसाइएको भेटिएपछि त्यसमा पनि कडाइ गरिएको महानगरले जनाएको छ ।
सरसफाइ महानगरको मात्र जिम्मेवारी नभई स्थानीय बासिन्दाको पनि साझा दायित्व भएको उल्लेख गर्दै प्रमुख दाहालले सार्वजनिक स्थल, सडक र पार्कमा फोहोर नगर्न आग्रह गरे । “हामी सबै सचेत भई फोहोर व्यवस्थापनमा सहयोग गर्यौँ भने विराटनगरलाई स्वच्छ र सफा सहर बनाउन सकिन्छ,” उनले बताईन् ।
महानगरको सरसफाइ शाखाले हालसम्म जरिवानाबापत ८९ हजार २ सय रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।