दमक,८ बैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले महिना दिन अघि क्यानडामा ज्यान गुमाएकी झापा, दमककी रोशनी कुमालका परिवारलाई रु २ लाख रुपिया प्रदान गरेको छ ।
२८ महिना अघि उच्च शिक्षा अध्ययनका लागि क्यानडाको टोरन्टो, ओन्टारियोस्थित नियाग्रा कलेजमा अध्ययन गर्न गएकी २३ बर्षिया रोशनीको गत १४ मार्चमा निधन भएको थियो । मृतकको शव परिवारले नेपाल ल्याएर अन्तिम संस्कार समेत गरिसकेका छन् ।
यसैवीच, आर्थिक अवस्था कमजोर भएकी रोशनीको दमक -५ स्थित यलम्बर चौंकस्थित घरमै पुगेर रु २ लाख रुपिया आर्थिक सहयोग प्रदान गरिएको इक्यान झापाका सचिव विशाल सिटौलाले बताए ।
इक्यान झापाले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत पीडित परिवारलाई उक्त सहयोग गरेको उनको भनाई छ । इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत समाजमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।