जीवन चक्र समाजद्धारा नयाँ वर्ष -२०८३ को शुभकामना आदानप्रदानसहित सचेतना कार्यक्रम

दमक,२९ चैत । सामाजिक कार्यमा सक्रिय संस्था जीवन चक्र समाज नेपालले नजिकिएको नयाँ वर्ष -२०८३ को शुभकामना आदानप्रदानसहित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको कार्यालयमा शनिवार विभिन्न संघसंस्थाको उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदानसहित सिटी सफारी चालकहरुलाई ट्राफिक नियमका बारेमा अनुशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक डाक्टर लेखनाथ न्यौपानेले जानकारी दिए ।
नयाँ वर्षको शुभकामना राख्दै सहभागि ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रनानि मनोज कुमार खड्गा र इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले सवारी दुर्घटना न्यूनीकरण, सिटी सफारी व्यवस्थापन तथा समाजिक उत्तरदायित्वका विषयमा सहजीकरण गरेका थिए ।

सिटी सफारी चालकहरूमा लापरबाही बढ्दै गएको र त्यसले दुर्घटना वृद्धि भएको उल्लेख गर्दै प्रनानि खड्गाले अनिवार्य रूपमा लाइसेन्स लिनुपर्नेमा जोड दिए ।सवारी नियम पालना गर्न सबैलाई उनले आग्रह गरे ।
इलाका प्रहरी प्रमुख किशोर लम्सालले नयाँ वर्ष २०८३ मा दुर्घटना सुन्नु नपरोस् भन्ने शुभकामना व्यक्त गर्दै सिटी दर्ता, कर तिर्ने व्यवस्था र इन्स्योरेन्स अनिवार्य हुनुपर्ने बताए । सिटीमा चोरी तथा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै उनले कडाइका साथ कानुन कार्यान्वयन गरिए सिटीको संख्या आधा घट्न सक्ने बताए ।
उनका अनुसार दमकमा करिब १४ सय सिटी सञ्चालनमा रहेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष गणेश गौतम (जी.पी.) ले सञ्चालन गरेको सो कार्यक्रममा समाजसेवी मदन बोहोराले विगतमा इलेक्ट्रीसियनका रूपमा काम गर्ने क्रममा करेन्ट लागेर हात गुमाएको दुःखद अनुभव सुनाउँदै आफूलाई सहयोग गरिएको सम्झना गर्दै दुर्घटना हुनुअघि नै सचेत रहन सबैलाई आग्रह गरे । समाज र परिवार समृद्ध बनाउन व्यक्तिगत जिम्मेवारीबाट सुरुवात गर्नुपर्ने उनको भनाई छ ।
सिटी चालक सूर्य बहादुर सोडारीले लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने र सिटी सफारीका कागजपत्र नियमित जाँच हुनुपर्ने धारणा राखे । त्यस्तै, आस्था कलेजका प्रमुख टिकाराम अधिकारीले संस्थाको सिद्धान्त र सकारात्मक भूमिकाबारे चर्चा गरे ।
पत्रकार बिमल लामिछानेले समाजमा घटेका घटनाहरूलाई केवल समाचारका रूपमा मात्र नलिएर त्यसबाट सिक्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत सचेतनाले दुर्घटना न्यूनीकरण गर्न सकिने बताए।

समाजसेवी केदार चापागाईंले सवारी दुर्घटनाबाट जोगिन स्वयं सचेत हुनुपर्ने, जीवनको मूल्य बुझ्नुपर्ने र सवारीका संकेत बत्तीहरू चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईंले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा साहित्यकार बिन्दु मुकदर्शकले सिटी सफारी चलाउनु धेरैका लागि बाध्ँयता भएकाले सरकारले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा सिटी सफारी चालक, यातायात व्यवसायी, मजदुर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको संस्थाका प्रवक्ता सिद्धार्थ दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.