झापा, २६ माघ ।ट्याक्टरको डालामा मोटरसाइकल ठोक्किदा झापाको बुद्धशान्तिमा मोटरसाईकल चालकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । यसरी ज्यान गुमाउनेमा अर्जुनधारा –६ बस्ने बर्ष ३५ का प्रबिण आङदेम्बे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दुई दिनअघि माघ २४ गते राति ८ः३० बजे बुद्धशान्ति गाउँपालिका वडा न। २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र।१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडी डालामा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक प्रबिणसहित सोही मोटरसाइकलमा पछाडी सवार पाँचथर फाल्गुनन्द –७ घर भई हाल बिर्तामोड १ बस्ने बर्ष ४८ का हरि आङदेम्बे घाइते भएका थिए । दुवैजना घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा प्रवीणको भने आज दिउँसो २.३० वजे उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव सोहि अस्पतालमा रहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक मेचीनगर –२ बस्ने बर्ष ४० का बिरबहादुर बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । यो माघ महिनामा झापामा अत्यधिक सवारी दुर्घटना भइरहेको छ । माघको २६ गतेसम्म सवारी दुर्घटनामा परी १९ जनाले ज्यान गुमाइसकेका छन् ।